आफ्नै घाँटी निमोठेको अस्ट्रेलिया

काठमाडौं। श्रीलंकासँग सोमबारको लज्जास्पद हारपछि अस्ट्रेलियाको विश्वकप यात्रा आफ्नै हातबाट बाहिरिएको थियो।
कप्तान मिचेल मार्शले त्यसपछि ‘आइरिस भाग्य’ को आशा गरेका थिए। भोलिपल्ट पल्लेकल्लेमा आयरल्यान्ड र जिम्बाब्वेबीच खेल हुने तालिका थियो। अफ्रिकी टोली जिम्बाब्वेले कुनै पनि अंक हात पारे अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिने अवस्था थियो।
तर, वर्षाका कारण खेल एक बल पनि नफ्याँकी रद्द भयो र दुवै टोलीले अंक बाँडे। योसँगै जिम्बाब्वे अघि बढ्यो भने अस्ट्रेलिया बाहिरियो।

२००९ पछि पहिलोपटक सुपर ८ वा समकक्ष चरणमा अस्ट्रेलियाली टोली देखिने छैन। २०२१ मा उपाधि जितेपछि अस्ट्रेलिया लगातार तेस्रोपल्ट विश्वकपको सेमिफाइनल पुग्न असफल भएको हो।
हालै एसेजमा प्रभावशाली जित निकालेको अस्ट्रेलियाले टी–२० विश्वकपमा भने त्यही स्तर देखाउन सकेन। श्रीलंकाको कठिन पिचमा खेलिएका समूह चरणका सबै खेलमा टोलीको तयारी र छनोटमाथि प्रश्न उठेको छ।
टी–२० क्रिकेट अस्ट्रेलियाको प्राथमिकतामा नरहेको र आफ्नै घाँटी निमोठेको धारणा पनि बलियो बन्दै गएको छ।

छनोट विवादित रह्यो। स्टिभ स्मिथ करिब दुई वर्षदेखि यो टोलीबाट बाहिर थिए। बिग बास लिग (बीबीएल)मा एक शतक र दुई अर्धशतक बनाए पनि उनलाई सुरुमा टोलीमा राखिएन।
प्रशिक्षणका क्रममा मार्श घाइते भएपछि मात्र उनलाई कोलम्बो बोलाइयो। त्यसपछि जोस हेजलवुड चोटका कारण बाहिरिएपछि स्मिथलाई औपचारिक रूपमा टोलीमा समावेश गरियो। तर, उनले मैदानमा प्रभाव पार्ने अवसर पाएनन्।
पथुम निसांकाको शतकीय प्रदर्शनले श्रीलंकालाई जित दिलाउँदा अस्ट्रेलिया निरीह देखियो। त्यसभन्दा अघि म्याथ्यु रेन्शोलाई बाहिर राख्ने निर्णय पनि विवादित बन्यो।
म्याथ्युले आयरल्यान्डविरुद्ध ३७ रन र जिम्बाब्वेविरुद्ध ६५ रन बनाएका थिए। तर, श्रीलंकाविरुद्ध उनलाई बेन्चमा राख्दा मध्यक्रम कमजोर देखियो।

दुई पटक ५० ओभर विश्वकप विजेता म्याथ्यु हेडनले टोलीको तयारी र रणनीतिमाथि कडा टिप्पणी गरे। उनका अनुसार श्रीलंकाको जस्तो फिनिसिङ आवश्यक पर्ने पिचमा अस्ट्रेलियाले पावर हिटरमा भर परेको छ।
‘योजनामा राम्रो छैन,’ उनले भने,‘यी पिचमा पुरानो शैलीको धैर्य र रणनीति आवश्यक पर्छ।’
पेस बलिङमा पनि समस्या देखिएको छ। मिचेल स्टार्क सेतो बल क्रिकेटबाट सन्न्यास लिइसकेका छन् भने प्याट कमिन्स र हेजलवुड घाइते छन्। विकल्पको अभाव देखिँदा व्यवस्थापनमाथि थप प्रश्न उठेको छ।
क्यामरुन ग्रीन पनि अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्। उनलाई हालै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा महँगो मूल्यमा अनुबन्ध गरेको थियो। तर, यस प्रतियोगितामा उनले लय समात्न सकेनन्।

अस्ट्रेलियामा बीबीएलको लोकप्रिय भए पनि यो प्रतियोगिताप्रति सार्वजनिक चासो अपेक्षाकृत कम देखिएको छ। एक अस्ट्रेलियाली पत्रकार मात्र श्रीलंकामा टोलीको कभरेजका लागि पुगेका छन्। यसले टी–२० विश्वकपलाई कति प्राथमिकता दिइएको छ भन्ने संकेत गर्छ।
अब अस्ट्रेलियाको अन्तिम खेल ओमानविरुद्ध शुक्रबार हुनेछ। तर, त्यो खेल औपचारिकतामा सीमित हुनेछ। यो ‘डेड रबर’ले अस्ट्रेलियाको निराशाजनक अभियानलाई मात्र औपचारिक अन्त्य दिनेछ।











-1771557471194.webp&w=3840&q=75)



