काठमाडौं । एसिसी यु–१९ एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।
शुक्रबार भएको खेलमा नेपाल पाकिस्तानसँग सात विकेटको पराजित भएको हो ।
युएईस्थित आइसिसी एकेडेमीको दोस्रो मैदानमा नेपालले दिएको १५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २६ ओभर २ बलमा मात्र तीन विकेट गुमाएर पूरा गर्यो ।
पाकिस्तानका लागि अजान अविस र कप्तान साद बेगलेले अर्धशतकिय पारी खेले । ६२ बल खेलेका अजानले आठ चौकाको सहयोगमा सर्वाधिक ५६ रन बनाए । त्यस्तै कप्तान साद बेगले ५६ बलमा पाँच चौकाको मद्दतले ५० बनाए ।
बलिङतर्फ नेपालका लागि गुल्सन झाले दुई विकेट लिए । त्यस्तै आकाश त्रिपाठीले एक विकेट लिए ।
यसअघि टस हरोर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १५२ रन बनाएको थियो ।
नेपालका लागि उत्तम थापा मगरले ५१ रनको अर्धशतकीय पारी खेले । ७४ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे । त्यस्तै दीपेश कंडेलले ३१ रन बनाउँदा अर्जुन कुमालले २१ रनको योगदान गर्दा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पाकिस्तानका लागि मोहम्मद जिशनले ६ विकेट लिए । त्यस्तै अमिर हसनले दुई तथा उबेद शाह र अली अस्फन्दले समान एक विकेट लिए ।
नेपालको अर्काे खेल आइतबार अफगानिस्तानसँग छ ।