काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शानदार जित निकालेको छ ।
आईतबार घरेलु मैदानमा चेल्सीले ब्राइटनलाई ३–२ गोल अन्तरले हराएको हो ।
पहिलो हाफमा १० खेलाडीमा सिमित बनेको चेल्सीले ब्राइटनलाई हराएर महत्वपुर्ण तीन अंक जोडेको छ ।
गालाघरले पहिलो हाफको अन्तिम मिनेटमा दोहोरो पहेलो कार्ड खादै मैदान छाडेका थिए ।
खेलमा अग्रता लिन चेल्सीलाई गाह्रो भएन ।
इन्चो फर्नान्डेजको गोलमा चेल्सीले १७ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो । कोलविलले २१ औं मिनेटमा चेल्सीको अग्रतालाई दोब्बर बनाउने काम गरे । उनले निकोलस ज्याकसनको पासलाई सदुपयोग गर्दै चेल्सीको अग्रतालाई दोब्बर बनाएका थिए ।
पहिलो हाफ सकिन दुई मिनेट अघि ब्राइटनका बुओनानोटले गोल गर्दै खेललाई २–१ मा झारेका थिए । तर दोस्रो हाफमा इन्चो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई ३–१ ले अघि बढाए ।
खेलको इन्जुरी समयमा जोआओ पेड्रोले गोल गरेपनि पाहुना टोलीको हार टार्न भने सकेनन् ।
ठुला टिमविरुद्ध जित निकाल्ने छवी बनाएको चेल्सीले पछिल्लो जितसँगै तालिकामा १९ अंक जोडेर दशौं स्थानमा उक्लिएको छ । ब्राइटन २२ अंक सहित तालिकाको आठौं स्थानमा रह्यो ।