काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले चार अंकको अग्रता बनाएको छ ।
शनिबार उल्भ्सलाई हराउँदै आर्सनलले २–१ को जित निकालेको हो ।
इमिरेट्स स्टेडियममा सुरुवातमै प्राप्त २–० को अग्रताले लण्डन क्लबलाई जित निकाल्न खासै गाह्रो परेन ।
बुकायो साकाले खेलको छैटौं मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए । मार्टिन ओडिगार्डले १३ औं मिनेटमा लण्डन क्लबको अग्रतालाई दोब्बर बनाउने काम गरेका थिए ।
दोस्रो हाफमा उत्कृष्ट प्रर्दशन गरेको उल्भ्स खेलमा फर्कन भने सकेन । खेल सकिन ४ मिनेट अघि म्याथ्यु चुन्हाले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् ।
यसै साता च्याम्पियन्स लिगमा लेन्समाथि ६–० को शानदार जित निकालेको आर्सनलले प्रिमियर लिगमा समेत स्पष्ट तीन अंक बटुल्न सफल भएको छ ।
आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको दुरी ४ अंकले बढाएको छ । आर्सनलको ३३ र सिटीको २९ अंक छ । उल्भ्स १५ अंक सहित १३ औं स्थानमा छ ।