योगेन श्रेष्ठ
पोखरा । पोखरामा जारी केपी ओली कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफले जित हासिल गरेको छ ।
प्रतियोगिताको आफ्नो दोस्रो खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ८४ रनले हराएको हो ।
एपीएफ क्लबका अरुण ऐरीले लुम्बिनीका ५ खेलाडीलाई पेविलियन फर्काएपछि एपीएफको जित सहज बनेको हो ।
एपीएफले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले ९ विकेट गुमाएर ६७ रनमात्र बनाउन सक्यो । लुम्बिनीलाई समेट्न ४ ओभर बलिङ गरेका ऐरीले ७ रन खर्चिएर ५ विकेट हात पारेका थिए ।
लुम्बिनीका मिर्नल गुरुङले सर्वाधिक १४ रन जोड्दा रोशन गुप्ताले अविजित १३ रन बनाए । अन्य कुनै खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
एपिएफका अन्य बलर भुवन कार्कीले २, अभिनास बोहरा र अमर रौतालाले समान १–१ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो ।
लोकेश बमले विष्फोटक पारी खेल्दै १३ बलमा ३ चौका, ३ छक्काको मद्दतमा ३२ रन बनाउँदा एपिएफले सम्मानजनक स्कोर खडा गरेको थियो । गण्डकीसंग एक खेल गुमाएको एपीएफलाई सेमीफाइनल प्रवेशका लागि जित निकाल्नुपर्ने दबाब थियो ।
एपीएफका लागि कप्तान प्रदीप ऐरीले ३०, अरुण ऐरीले २५, पुरन विकले २३, सुमित महर्जनले १८ र अशिफ शेखले १३ रनको योगदान दिए ।
लुम्बिनीका रमेश कुर्मी र अविषेक गौतमले समान २–२ विकेट लिए भने मोहमद हुसेनले १ विकेट हात पारे ।
समुह ‘बि’मा रहेको एपीएफले जितको नतिजा सहित सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । एक–एक खेल जित्दै एपीएफ र गण्डकीको समान २–२ अंक छ ।
सेमिफाइनलको टुंगो आइतबार हुने गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको खेलबाट लाग्नेछ । गण्डकीले जित निकालेको खण्डमा एपीएफ प्रतियोगिताबाट बाहिरिनेछ ।
शनिबारनै भएको अर्को खेलमा कर्णाली प्रदेश विजयी बनेको छ । दिपेन्द्र रावतको उत्कृष्ट प्रदर्शनमा कर्णाली प्रदेशले आयोजकको रातो टिमविरुद्ध ४ विकेटको जित निकालेको छ ।

दुवै टिम प्रतियोगिताबाट बाहिरिसकेका छन् । यस समूहबाट बागमती सेमिफाइनल प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिम नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ तथा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा उपाधि विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत आइतबार समुह बी अन्तर्गत गण्डकी र लुम्विनी तथा दोश्रो खेल समुह सी अन्तर्गत विभागिय टिम नेपाल पुलिस क्लब र मधेश प्रदेशबीच हुनेछ ।