सेनेगलविरुद्ध ब्राजिलले लियो बदला

काठमाडौं। साढे दुई वर्षअघि भएको अन्तिम भेटमा सेनेगलसँग ४–२ ले पराजित भएको ब्राजिलले यसपटक कार्लो एन्चेलेट्टीको प्रशिक्षणमा त्यस हारको मीठो बदला लिएको छ।
शनिबार लन्डनमा एस्तेवाओ विलियन र कासेमिरोको गोलमा ब्राजिलले मैत्रीपूर्ण खेलमा सेनेगललाई २–० ले हराएको हो। खेलको सुरुदेखि नै आक्रमणमा हावी ब्राजिलले २८औं मिनेटमा एस्तेवाओको प्रहारबाट अग्रता लियो। सात मिनेटपछि रोड्रिगोको फ्री–किकबाट बनेको अवसर कासेमिरोले जाली चुमाउँदै स्कोर २–० बनाए।
दोस्रो हाफमा सेनेगलले खेल सम्हाल्दै दबाब बढायो। एडर्सनको गल्तीबाट लगभग गोल खानु पर्ने अवस्था आए पनि बारले ब्राजिललाई बचायो। रोड्रिगो र साडियो मानेले पनि केही मौका पाए तर उपयोग गर्न सकेनन्।
अन्त्यसम्म दुवै पक्षबाट थप गोल हुन नसक्दा ब्राजिल २–० को जितसँगै मैदान छाड्यो। फिफा मैत्रीपूर्ण भए पनि एन्चेलेट्टीले यसलाई विश्वकप २०२६ अघि टोलीलाई परिक्षण गर्ने अवसरका रूपमा लिएका छन्।















