काठमाडौं । बार्सिलोनाका मिडफिल्डर गाभीको चोटको सल्यक्रियानै हुने भएको छ । अन्तराष्ट्रिय खेलको दौरान चोट बोकेका गाभीको एसीएलमा समस्या देखिएको छ ।
फुटबलमा निकै गम्भिर चोट मानिने एसीएल च्यातिएपछि गाभीको सल्यक्रिया हुने भएको हो । क्लबले यसको पुष्टि गर्दै चाँडै सल्यक्रियाको प्रकृया अघि बढ्ने जनाएको छ ।
१९ वर्षका गाभीले बललाई नियन्त्रणमा लिदा उफ्रिएर झर्ने क्रममा चोट बोकेका थिए ।
बार्सिलोनाले गाभीको दायाँ एसीएलको सल्यक्रिया हुने जनाएको छ । आगामी दिनमा चोटको बारेमा जानकारी दिने क्लबले बताएको छ ।
गाभीले यस सिजन पुरै मैदान बाहिर रहनेछन् र सम्पुर्ण खेल गुमाउनेछन् । उनी अर्को वर्ष हुने पेरिस ओलम्पिकमा समे सहभागी हुने सम्भावना कमजोर बनेको छ ।
बार्सिलोनाले सल्यक्रिया निको हुन ८ देखि १० महिना लाग्ने जनाएको छ ।
गाभीले क्याटलान क्लबका लागि १ सय ११ खेल खेलेका छन् । उनले ७ गोल गर्नुका साथै १२ गोलको अवसर सिर्जना गरेका छन् । उनले स्पेनको राष्ट्रिय टिमबाट २७ खेल खेल्दै ५ गोल गरेका छन् ।
गत सिजन उनले बार्सिलोनालाई लिग उपाधि सहित स्पेनिस सुपर कप जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए ।
आईतबार जर्जियामाथि स्पेनले ३–१ को जित हात पारेको थियो । सो खेलको २६ औं मिनेटमा गाभीले चोट बोकेका थिए । उनी रुदै मैदान बाहिरिएका थिए ।