काठमाडौं । नेपालकी सीता रानामगरले सानदार प्रदर्शन गर्दै पाँच विकेट लिएपछि नेपालले हङकङलाई सामान्य रनमा रोकेको छ ।
चार देश सम्मिलित महिला टी-ट्वान्टी आई खेलमा हङकङले नेपाललाई ८५ रनको सामान्य लक्ष्य दिएको छ ।
मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङ १९ दशमलब १ ओभरमा ८४ रनमा अलआउट भयो ।
हङकङको लागि यिंग चानले २९ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाइन् ।
हङकङलाई कम रनमा रोक्न स्पिनर सीता रानामगरले ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन् ।
सीता नेपाली महिला टी-ट्वान्टी आई क्रिकेटमा पाँच विकेट लिने चौथो बलर हुन् ।
यसअघि २०१९ मा अन्जली चन्दले माल्दिभ्स र नेरी थापाले हङकङविरुद्ध ६/६ विकेट लिएका थिए ।
गतवर्ष अस्मिना कर्माचार्यले युएईविरुद्ध पाँच विकेट लिएकी थिइन् ।
इन्दु बर्माले २, कविता कुँवर र कप्तान रुविना क्षेत्री बेलबासेले समान १/१ विकेट लिइन् ।
डेब्यू खेल खेलेकी पुजा महतोले ३ ओभरमा ५ रन खर्चेर १ विकेट लिइन् ।