एक खेल अगावै भारतलाई सिरिज

काठमाडौं । भारतले घरेलु टोली आयरल्यान्डविरुद्धको तीन खेलको टी-ट्वान्टी आई सिरिज एक खेल अगावै जितेको छ।
दोस्रो टी-ट्वान्टी आई खेलमा आयरल्यान्डलाई ३३ रनले हराउँदै भारतले एक खेल अगावै सिरिज जितेको हो ।
तीन खेलको सिरिजमा भारतले २–० को अग्रता लिएको छ ।
भारतले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन मात्र बनायो ।
आयरल्यान्डका ओपनर एन्ड्रयू बालबर्नीले ५१ बलमा ५ चौका र ४ छक्कासहित ७२ रनको अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् ।
मार्क अडिरले १५ बलमा ३ छक्कासहित २३ रनमा आउट भए । कर्टिस क्याम्फर १८ तथा जर्ज डोकरेल १३ रनमा आउट भए ।
भारतका प्रसिद्ध कृष्णा, रवि विश्रोई र कप्तान जस्प्रित बुमराहले समान २/२ विकेट लिए । अर्शदीप सिंहको नाममा १ विकेट रह्यो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो ।
भारतका लागि ओपनर ऋतुराज गायकवाडले ४३ बलमा ६ चौका र १ छक्कासहित ५८ रनको अर्धशतकीय ईनिङ खेले।
सन्जु सामसन २६ बलमा ५ चौका र १ छक्कासहित ४० रनमा आउट भए । रिंकु सिंहले २१ बलमा २ चौका र ३ छक्कासहित ३८ रन बनाए ।
शिवम दुबे १६ बलमा २ छक्कासहित २२ रनमा अविजित रहे ।
आयरल्यान्डका ब्यारी म्याकार्थीले २ तथा मार्क अडिर, क्रेग योंग र बेन्जामिन ह्वाइटले समान १/१ विकेट लिए ।
पहिलो खेलमा भारत डकवर्थ लेविस पद्धतिको आधारमा दुई रनले विजयी भएको थियो । दुई देशबीचको तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ ।