कुवेतविरुद्ध नेपाल : हेड टु हेड

काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा भोली शनिबार नेपालले कुवेतसँग खेल्दैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान नौ बजेबाट सुरु हुनेछ । समूह ए को विजेता नेपाल र समूह बी को उपजिजेता कुवेत पहिलो सेमिफाइनल खेलमा भिड्दै छन् ।
नेपाल र कुवेतबीच अहिलेसम्म तीन खेल भएको छ । जसमा नेपालले दुई तथा कुवेतले एक जित हात पारेको छ ।
नेपाल र कुवेतबीचको पहिलो भेट २००८ मा मलेसियामा आयोजना भएको एसीसी ट्रफी एलिटमा भएको थियो । सो खेल नेपालले ७ विकेटको फराकिलो अन्तरले जितेको थियो ।
खेलमा नेपालका लागि मेहबुब आलम र शक्ति गौचनले समान ३/३ विकेट लिएका थिए । शरद भेषवाकरले २८ तथा पारस खड्काले २६ रन बनाएका थिए ।
नेपाल र कुवेतबीचको दोस्रो भेट २०१० मा कुवेतमा नै आयोजना भएको एसीसी ट्रफि एलिटमा भएको थियो । यो खेल नेपालले ८ विकेटले जितेको थियो ।
यस खेलमा संजम रेग्मीले ४ तथा विनोद दासले ३ विकेट लिएका थिए । नेपालका लागि महेश क्षेत्रीले ६३ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।
कुवेतसँगको पछिल्लो भेट २०१२ मा युएईमा आयोजना भएको एसीसी ट्रफी एलिटमा भएको थियो । यस खेलमा कुवेत ४ विकेटले विजयी भएको थियो ।
नेपालका लागि यस खेलमा पारस खड्काले १ सय ६ रनको शतकीय ईनिङ खेलेका थिए । पारस खड्का र शक्ति गौचनले समान २/२ विकेट समेत लिएका थिए ।