काठमाडौं । चेन्नाई सुपर किंग्सलाई भारतमा जारी ईन्डियन प्रिमियर लिग(आईपीएल)को ३७ औं खेलमा राजस्थान रोयल्सले २ सय ३ रनको लक्ष्य दिएको छ ।
राजस्थानको घरेलु सवाईमान सिंह क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनायो ।
राजस्थानका लागि ओपनर यशस्वी जैसवालले ४३ बलमा ८ चौका र ४ छक्काको सहयोगमा ७७ रनको अर्धशतकीय ईनिङ खेले । अर्का ओपनर जोस बटलरले २१ बलमा ४ चौकाको सहयोगमा २७ रन बनाए ।
पहिलो विकेटका लागि जैसवाल र बटलरले ५० बलमा ८६ रनको साझेदारी गरे । कप्तान सन्जु सामसनले १७ बलमा १ चौकाको सहयोगमा १७ रन बनाए ।
धुव्र जुरेलले १५ बलमा ३ चौका र २ छक्कको सहयोगमा ३४ रन बनाउँदा देवदत्त पडिकल २३ रनमा अविजित रहे ।
राजस्थानले पछिल्लो पाँच ओभरमा २ विकेट गुमाएर ६३ रन बनाएको थियो ।
चेन्नाईका लागि तुसारदेश पान्डेले २ तथा रविन्द्र जडेजा र महेश थिक्सनाले समान १/१ विकेट लिए ।
चेन्नाई आजको खेलमा जित हात पारेर आफुलाई स्थानमा राखिरहन चाहन्छ । चेन्नाई सात खेलमा पाँच जित र दुई हारका साथ शीर्ष स्थानमा रहेको छ ।
राजस्थान यस खेलमा जित हात पारी शीर्ष स्थानमा पुग्न चाहन्छ । राजस्थान सात खेलमा चार जित र तीन हारका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
यो सिजन दुई टोली दोस्रो पटक खेल्दै छन् । यस सिजन दुई टोलीबीचको पहिलो भेटमा राजस्थानले ३ रनको रोमान्चक जित निकालेको थियो ।