धनगढी । छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ।
धनगढी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल एपीएफ क्लब र बागमती क्लबबीच प्रतिस्पर्धा हुँदैछ । दिउँसो ३ बजे सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रतियोगितको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबको आयोजनामा हुने प्रतियोगितामा ‘ए’ डिभिजन ६ टीम, दुई विदेशी टिम, मोसलको एक र आयोजक क्लब गरी १० टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
सुदूरपश्चिममा पर्वका रुपमा परिचित प्रतियोगिता २०७३ सालदेखि आयोजना हुदै आएको छ । प्रतियोगितामा उद्घाटन खेल हेर्न टिकट नलाग्ने आयोजकले जनाएको छ ।
यस्तै अन्य दिन विद्यार्थीका लागि एक सय र अन्यका लागि एक सय ५० रुपैयाँको टिकट लाग्ने छ । टिकट काटेका मध्ये दैनिक एक जना दर्शकले गोलाप्रथाबाट एन्ड्रोइड मोबाइल फोन पुरस्कार पाउने छन् ।