अस्ट्रेलिया टोलीमा पहिलेको जस्तो ‘ओरा’ रहेन !

काठमाडौं। सन् २००९ यता पहिलो पटक अस्ट्रेलिया टी–२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।
टोलीको यो निराशाजनक बहिर्गमनबारे बोल्न अस्ट्रेलियाका महान् पूर्वकप्तान रिक्की पन्टिङ हच्किएनन्। जिम्बाबे श्रीलंकासँग लगातार दुई हारपछि अस्ट्रेलिया लगभग प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको थियो। त्यसपछि जिम्बाबे र आयरल्यान्डबीचको खेल वर्षाका कारण रद्द हुँदा अस्ट्रेलियाको बिदाइ पक्का भयो।
पन्टिङका अनुसार यो अस्ट्रेलिया टोलीमा अघिल्ला वर्षहरूजस्तो दबदबा वा ‘ओरा’ देखिँदैन। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को रिभ्यू कार्यक्रममा उनले भने,‘यो साँच्चै निराशाजनक अभियान थियो। सुरुमै चोटका कारण प्याट कमिन्स र जोश हेजलवुड बाहिरिए। सुरुका खेलहरूमा टिम डेभिड पनि उपलब्ध थिएनन्। तर, जिम्बाबेसँगको हार नै त्यस्तो खेल थियो, जसतर्फ फर्केर हेर्दा उनीहरूले त्यहीँ विश्वकप समाप्त भएको महसुस गर्नेछन्।’
उनले थपे, ‘टुर्नामेन्टअघि समूह हेर्दा नै मलाई उसकैको मैदानमा श्रीलंकालाई हराउन गाह्रो हुने लागेको थियो र त्यही भयो। उनीहरूले अस्ट्रेलियाविरुद्ध उत्कृष्ट खेल देखाए। त्यस्तो लक्ष्य पछ्याउनु सजिलो हुँदैन। तर, आईसीसीको प्रतियोगितामा जिम्बाबेलाई आफूभन्दा माथि जान दिने गल्ती गर्न हुँदैन थियो।’
ठूला प्रतियोगितामा अनुभवी र स्टार खेलाडीहरूको भूमिका निर्णायक हुन्छ। पन्टिङले मिचेल मार्शको नेतृत्वमा रहेको यो टोली कागजमा अघिल्ला विश्वकपमुखी अस्ट्रेलियाली टोलीजत्तिकै बलियो नरहेको स्वीकारे।
उनका अनुसार यस्ता प्रतियोगिता जित्न साना–ठूला क्षणमा अनुभवी खेलाडीहरू उभिनुपर्छ। अस्ट्रेलियाले त्यस्तो अवसर पाएन। शीर्षक्रमबाट पनि अपेक्षित योगदान नआएको उनले बताए। नम्बर तीनमा क्यामरुन ग्रीन र पछिल्ला खेलहरूमा नम्बर चारमा डेभिडले अपेक्षा अनुसार प्रदर्शन गर्न सकेनन्। विशेषगरी जिम्बाबेविरुद्ध छिट्टै विकेट गुमाउनु हारको मुख्य कारण बन्यो।
अस्ट्रेलियाले टी–२० विश्वकपलाई पर्याप्त महत्त्व नदिएको हो कि भन्ने प्रश्नमा पन्टिङले असहमति जनाए। उनका अनुसार एसेसजस्तो लामो टेस्ट शृङ्खलापछि मानसिक रूपमा तयार हुनु कठिन हुन्छ। पाँच टेस्ट खेल्नु शारीरिक र मानसिक रूपमा थकाइपूर्ण हुन्छ। कोही खेलाडी बिग बास लिए (बीबीएल) खेले। कोही विश्वकपका लागि विश्राममा बसे। तर, अन्ततः अस्ट्रेलियाली क्रिकेट संस्कृतिमा विश्वकप र उपाधि जित्नु नै अन्तिम लक्ष्य हो।
पन्टिङले निष्कर्षमा भने,‘धेरै मुख्य खेलाडीको अनुपस्थिति र ठूला मञ्चमा उत्कृष्ट खेलाडीहरूले प्रदर्शन गर्न नसक्नु नै हाम्रो हारको कारण बन्यो। अब बाँकी रहेका टोलीहरूले उपाधि जित्न चाहन्छन् भने उनीहरूका उत्कृष्ट खेलाडीहरू प्रतियोगिताको अन्तिम चरणमा चम्किनै पर्छ।’











-1771470795575.webp&w=3840&q=75)
-1771470155413.webp&w=3840&q=75)
