पहिलो मैत्रीपूर्णमा नेपाल र भारत भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा आज बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपालले घरेलु टोली भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
नेपाल घरेलु टोलीलाई हराउने योजनासहित मैदान उत्रनेछ । भारत पनि नेपाललाई हराउने योजनामा हुनेछ ।
नेपाल गोलकिपर एन्जिला सुब्बाको कप्तानीमा मैदान उत्रनेछ । भारतविरुद्ध नेपाली टोलीको मुख्य प्रशिक्षकमा अनन्त राज थापा रहेका छन् ।
काठमाडौंमा आयोजना भएको महिला साफ च्याम्पियनसिपपछि नेपाल र भारत पहिलो पटक भिड्न लागेका हुन् ।
गत भदौमा दशरथ रंगशालामा भएको महिला साफको सेमिफाइनलमा नेपालले भारतलाई १-० ले हराएको थियो ।
ओलम्पिक छनोटको तयारी स्वरूप भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि बोलाएको हो । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण शनिबार हुनेछ ।
नेपाली टोली -
गोलकिपरः एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डरः हिरा कुमारी भुजेल, घिमकुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक, समीक्षा घिमिरे
मिडफिल्डरः विमला चौधरी, सविता राना मगर, सरु लिम्बु, दीपा शाही, रेणुका नगरकोटी, अनिता बस्नेत, प्रिती राई, अनिता केसी
फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला विक









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



