काठमाडौं । डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडमा अनुबन्धित भएका छन् ।
युनाईटेडले शुक्रबार एरिक्सनलाई अनुबन्ध गरिएको जनाएको छ । युनाईटेडले फ्री ट्रान्सफरमा एरिक्सनलाई अनुबन्ध गरेको हो ।
३० वर्षीय एरिक्सनले युनाईटेडसँग ३ वर्षको सम्झौता गरेका छन् ।
गत सिजन उनले ब्रेन्टफोर्डबाट खेलेका थिए । क्लबसँग एरिक्सनको सम्झौता जुनको अन्तिमबाट सकिएको थियो ।
गत सिजन उनले ब्रेन्टफोर्डका लागि ११ प्रिमियर लिग खेलेका थिए ।
एरिक्सन दुई वर्षपछि प्रिमियर लिग फर्किएका हुन् ।
एरिक्सन सन् २०२० मा टोटेनहमबाट इन्टर मिलान गएका थिए ।
तर, एरिक्सनले युरोकप दौरान भएको हृदयघातपछि ब्रेन्टफोर्डबाटै पुनरागमन गरेका हुन् ।
इटालियन क्लब इन्टरसँगको सम्झौता रद्द गरेपछि एरिक्सन इंग्लिस क्लब आएका हुन् ।
मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) नहटाएसम्म इटालीमा खेल्न नपाउने भएपछि एरिक्सन र इन्टरले सम्झौता रद्द गरेको हो ।
हृदयघात भएपछि डेनमार्कका मिडफिल्डर एरिक्सनको शरीरमा आइसिडी जडान गरिएको छ ।
युरोकपमा फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर एरिक्सन मैदानमा ढलेका थिए ।