काठमाडौं । म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन ह्यागले फरवार्ड क्रिस्टियानो रोनाल्डो बेच्ने क्लबको योजनामा नरहेको बताएका छन् ।
पोर्चुगिज फरवार्ड रोनाल्डोले क्लब छाड्ने चर्चा चलिरहेको बेला प्रशिक्षक टेन ह्यागले उनलाई बेच्ने योजना नभएको बताएका हुन् ।
'व्यक्तिगत समस्याका कारण उहाँ हामीसँग हुनुहुन्न । हामी यो सिजन क्रिष्टियानो रोनाल्डोसहितको योजनामा छौं । त्यहिँ हो,' मुख्य प्रशिक्षक टेन ह्यागले भने ।
रोनाल्डो युनाईटेडको प्रि-सिजन भ्रमणमा छैनन् । रोनाल्डोबिना युनाईटेडको टोली थाइल्याण्ड भ्रमणमा रहेको छ ।
यस्तै प्रशिक्षक टेन ह्यागले आफु रोनाल्डोसँग काम गर्न उत्सुक रहेको बताए ।
'म उहाँसँग काम गर्न उत्सुक छु। क्रिस्टियानो बिक्रीको लागि होइन । उहाँ हाम्रो योजनामा हुनुहुन्छ । हामी सँगै सफलता चाहन्छौं,' उनले थपे ।
रोनाल्डो पछिल्लो समय युनाईटेड छाड्ने योजनामा रहेका छन् । रोनाल्डोले युनाईटेडसँग क्लब छाड्ने अनुमति मागिसकेका छन् ।
उनी चेल्सी र बायर्न म्युनिखसँग जोडिएका छन् । यता युनाईटेड भने रोनाल्डोलाई क्लबमै राख्ने योजनामा रहेको छ ।
३७ वर्षीय फरवार्ड गत वर्ष युभेन्ट्सबाट युनाईटेड फर्किएका थिए । रोनाल्डो गत सिजन युनाईटेडको सर्वाधिक गोलकर्ता थिए ।
पाँच पटकको बालेन डी'ओर विजेता रोनाल्डोको युनाईटेडसँगको सम्झौता अझै एक वर्ष बाँकी रहेको छ ।
यस्तै प्रशिक्षक टेन ह्यागले ह्यारी मग्वाएर नै टिमको कप्तान रहने बताए ।