काठमाडौं। बंगलादेशको सिनियर र यु–२० महिला फुटबल टोलीले एएफसी एसिया कपमा पहिलोपटक स्थान बनाउँदै ऐतिहासिक सफलता हासिल गरेका छन्।
यो उपलब्धिले क्षेत्रीय साफ सर्कलबाट एसियाली प्रतिस्पर्धामा स्थान बनाउन महिलाहरूलाई प्रोत्साहित गरेको छ। तर, मैदानको भित्री खेल जित्न सफल भएपनि यी टोली अहिले एउटा अत्यन्तै आधारभूत चुनौतीसँग जुधिरहेको छ। त्यो हो अभ्यासका लागि उपयुक्त मैदान र पूर्वाधारको अभाव।
बंगलादेश फुटबल महासंघ (बिएफएफ) महिला विभागकी अध्यक्ष महफुजा अख्तर किरोनका अनुसार खेलाडीहरूले अहिले पनि महिला खेलाडी प्रशिक्षण गर्न मैदान नपाएर निकै कठिनाइ भोगिरहेका छन्।
उनी भन्छिन्,‘महिला खेलाडीलाई अभ्यास गर्ने राम्रो मैदान नै छैन।’ तीन साताअघि मात्रै घरेलु मैदान सम्पन्न साफ महिला यु–२० च्याम्पियनसिपको अन्तिम खेलमा नेपाललाई ४–० ले पराजित गर्दै जुनियर टोलीले उपाधि हात पारेको थियो।
उक्त सफलतासँगै उच्च मनोबल लिएर एएफसी महिला यु–२० एसियन कपमा छनोट खेल्न लाओस पुगेको टोलीले त्यहाँ पनि सानदार प्रदर्शन गर्यो।
समूह ‘एच’ का खेलमा बंगलादेशले लाओसलाई ३–१ र टिमोर लिस्टेलाई ८–० ले पराजित गरेको थियो। अन्तिम खेलमा भने दक्षिण कोरियासँग ६–१ को फराकिलो हार बेहोर्यो। यद्यपि, उत्कृष्ट शीर्ष तीन विजेता बन्दै यो टोलीले अर्को वर्ष थाइल्यान्डमा हुने प्रतियोगितामा स्थान बनायो।
अब यो टोलीको लक्ष्य उत्तर कोरिया, जापान, चीनजस्ता उत्कृष्ट टोलीलाई बलियो चुनौती प्रस्तुत गर्ने हुनेछ। तर, अध्यक्ष किरण आधारभूत आवश्यकता नै पूरा गर्न नसकिने अवस्थामा रहेको कारण यो टोलीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गर्न नमिल्ने बताउँछन्।
उनी प्रश्न गर्छन्,‘मैदान मात्रै होइन होस्टेल, जिम, स्वीमिङ पूललगायतका आधारभूत सुविधा पनि छैन। यस्तोमा कसरी उत्कृष्ट प्रदर्शनको अपेक्षा गर्ने?’
यी सबै आधारभूत कुरा उपलब्ध गराउन नसक्नुले टोलीको प्रदर्शनमा नकारात्मक प्रभाव पारिरहेको उनको तर्क छ। यी पूर्वाधारहरू नभएपछि टोली खेलाडीको व्यक्तिगत मिहिनत र आत्मविश्वासमा भर पर्नु परेको छ।
सफलता र चुनौतीको मेल
यो मैदानसम्बन्धी अभावका बाबजुद पनि बंगलादेशी टोली उत्कृष्ट प्रदर्शन गर्दै एएफसी एसियन कप छनोट चरण चरण पार गर्न सफल भएको थियो। उता, सिनियर महिला टोली पनि अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा पुग्न सफल रह्यो।
बहराइनलाई ७–० ले हराएको बंगलादेशले म्यानमारविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्यो। तुर्कमेनिस्तानमाथि पनि उसले ७–० को एकपक्षीय जित हात पारेको यो टोली फिफा वरीयतामा १२८औं स्थानबाट १०४औं स्थानमा उक्लिन सफल भयो। यो विश्व स्तरमा सबैभन्दा ठूलो प्रगति मानिन्छ।
त्यसैले अध्यक्ष किरोन सरकारसँग मैदान र पूर्वाधार विकासमा सक्रिय भूमिका निभाउन आग्रह गरिरहेकी छन्। उनी भन्छिन्,‘हामी सकेसम्मको मिहिनेत गरिरहेका छौं। बाँकी सहयोगका लागि सरकारले पनि हात बढाउछ भन्ने अपेक्षा छ।’
भविष्यमा अझ राम्रो तयारीका लागि बिएफएफले जापानी फुटबल संघसँग एक महिनाको संयुक्त प्रशिक्षण क्याम्प आयोजना गर्ने योजना बनाइरहेको छ। यो क्याम्पमा सिनियर र यु–२० दुवै टोली सहभागी हुनेछन्। साथै थाइल्यान्ड, भियतनाम र फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्नेबारे छलफल पनि चलिरहेको उनले बताइन्।