काठमाडौं । मलेसियामा आयोजना हुने एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप भोलि शुक्रबारबाट सुरु हुँदैछ ।
च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
च्याम्पियनसिपमा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् ।
यस्तै समूह 'ए' मा मलेसिया, युएई,ओमान,कतार र सिंगापुर रहेका छन् ।
समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।
च्याम्पियनसिपका लागि रुबिना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय महिला टोली मलेसिया पुगिसकेका छन् ।
नेपालले भोलि शुक्रबार भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुआत गर्नेछ ।
नेपाल र भुटानबीचको खेल यूएसडी यूकेएम ओभलमा नेपाली समय अनुसार बिहान ८:४५ बजे सुरु हुनेछ ।
नेपालले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य बनाएको छ । नेपाल उपाधि जित्दै एसिया कप खेल्न चाहन्छ ।
नेपाली टोलीकी कप्तान रुबिनाले यस पटक उपाधि जितेर फर्कने बताएकी छिन् ।
'हामीले नतिजा दिन नसकिरहेकाले यसपटक त्यसका लागि प्रयास गर्नेछौं,' बिदाइमा कप्तान रुबिनाले भनेकी छिन्, 'हामी कहिल्यै पनि हार्ने सोचेर विदेश जाँदैनौं, यस पटक पनि हामी च्याम्पियन बनेर फर्किने लक्ष्य लिएर बाहिर जाँदैछौं।'
मुख्य प्रशिक्षक जगत टमाटाले सबैको एकै लक्ष्य भएकाले उपाधि जित्नेमा आफु विश्वस्त रहेको बताए ।
'सबैको एउटै लक्ष्य भएकाले हामी च्याम्पियन हुन्छौं भन्ने विश्वास छ,' टमटाले बिदाइमा भनेका थिए ।
च्याम्पियनसिप अन्तर्गत नेपालले दोस्रो खेलमा कुवेतसँग शनिबार खेल्नेछ ।
यस्तै नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।
नेपाली टोली -
रुविना क्षेत्री, इन्दु वर्मा, सिता रानामगर, ज्योती पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अपसरी बेगम, कबिता जोशी, डोली भट्ट, सबनम राई, संगिता राई, अस्मिता कर्मचार्य, मनिषा उपाध्याय, विन्दु रावल, ममता चौधरी