आर्मीलाई मकवानपुर गोल्डकपको उपाधि

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौंथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
पिप्ले क्याम्प रंगशालामा सोमबार भएको फाइनलमा घरेलु टोली विजय युथ क्लबलाई २-१ ले हराउँदै आर्मी च्याम्पियन बनेको हो ।
आर्मीलाई उपाधि दिलाउन भरत खवास र कमल बहादुर थापाले एक एक गोल गरे । विजय युथका डोना थापाले एक गोल फर्काए ।
खेलको १५ औं मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको २५ औं मिनेटमा डोनाले पेनाल्टीबाट गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा ल्याए ।
तर, खेलको ४८ औं मिनेटमा कमलले गोल गर्दै आर्मीलाई २-१ को जित दिलाए
उपाधिसँगै आर्मीले १५ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता विजय युथले १० लाख पाएको छ ।
प्रतियोगितामा विजय युथका कप्तान तथा गोलकिपर अशोक बराल सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
उनले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको एक थान बुलेट मोटरसाइकल हात पारे ।
यस्तै उत्कृष्ट गोलरकिपर आर्मीका विकेश कुथु, डिफेन्डर आर्मीका बिमल पाण्डे, मिडफिल्डर आर्मीका विवेक बस्नेत, फरवार्ड आर्मीका दिनेश हेन्जन र प्रशिक्षक आर्मीकै नविन न्यौपाने चुनिए । उनीहरु सबैले जनही २५ हजार हात पारे ।













