काठमाडौं । जिल्ला फुटबल संघ सुर्खेतको निर्वाचन बैशाख २२ हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले गठन गरेको सदस्य संस्था निर्वाचन समस्या तथा विवाद समाधान समितिले सुर्खेतको निर्वाचन बैशाख २२ गते गर्ने निर्णय गरेको हो ।
एन्फाले सोमबार पत्र काट्दै निर्वाचन एन्फा कप्लेक्स सातदोबाटोमा हुने जनाएको छ।
यस अघि सिरमोर युवा क्लबका प्रतिनिधि रबिन चन्दले निर्वाचनमा भाग लिन पाउने/नपाउने विषयमा विवाद भएपछि निर्वाचन रोकिएको थियो ।
तर, अब रबिनले निर्वाचनमा सहभागिता जनाउन पाउने भएका छन् ।
सहिद स्मारक 'सी' डिभिजन लिग खेलिरहेको आरसी ३२ क्लबका अध्यक्षबाट राजीनामा दिइसकेकाले उनी सहभागी हुन पाउने पत्रमा उल्लेख गरिएको छ ।
यस अघि दुई संस्थाहरूमा एउटै व्यक्तिले प्रनिधित्व गर्न नपाउने भन्दै एन्फाको सचिवालयले पत्र काटेको थियो ।
यद्दपी, रबिन आरसी ३२ को अध्यक्ष भएको पाईएमा पद खारेजीका साथै थप जरिवाना गरिने पत्रमा उल्लेख छ ।
