काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङले पछिल्लो समय नेपाली फुटबलमा देखिएको विवाद चाँडो टुंग्याउन माग गरेका छन् ।
पूर्व कप्तान अनिलले सामाजिक संजाल फेसबुकबाट विवादले फुटबलको हार हुने भन्दै विवाद समाधान गर्न अनुरोध गरेका छन् ।
'यो घटनाले भावी पिढीका लागि पनि नकारात्मक सन्देश गएको छ र यसमा पराजय मात्र फुटबलको हुनेछ । एक पूर्व कप्तानको नाताले यो विवाद छिटो भन्दा छिटो सुल्झाई खेलाडीलाई खेल्न योग्य वातावरण बनाइ दिनहुन म सम्बन्धित निकायलाई हार्दिक अनुरोध गर्दछु,' कप्तान अनिलले भनेका छन् ।
राष्ट्रिय फुटबल टिमका १० जना सिनियर खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीविरुद्ध बिद्रोह गर्दै प्रशिक्षण छाडेपछि फुटबल विवाद सतहमा पुगेको छ ।
प्रशिक्षकको कार्यशैलीमा असन्तुष्टि जनाउँदै सियिनर टिममा १० खेलाडीले अलमुताईरीविरुद्ध बिद्रोह गरेका हुन् ।
यता, अलमुताईरीले १७ नयाँ खेलाडी थप्दै टिमको तयारी जारी राखेका छन् ।
पूर्व स्ट्राइकर अनिलले सम्बन्धित निकायले पहल नगर्दा यो अवस्था आएको समेत बताएका छन् ।
'हाल नेपाली फुटबलमा चलिरहेको विवाद प्रति म अवगत छु । अब्दुल्लाह अल्मुताइरी एक अब्बल प्रसिक्षक हुनुहुन्छ, यो विषयमा सायदै दुइ मत होला । तर देशको इज्जत र प्रतिष्ठाको निमित्त आफ्नो घर परिवार त्यागेर रगत पसिना बगाएका हामी खेलाडीहरु पनि अनावश्यक विवाद सिर्जना गर्न कहिले पनि चाहदैनौं,' उनले लेखेका छन्, 'एक परिवारमा कहिले काहिँ समस्या आउनु स्वाभाविक हो । सम्बन्धित निकायले यस्ता समस्या आन्तरिक रुपमा सुल्झाएको भए सायद आज यो दिन आउने थिएन होला ।'
पूर्व कप्तान अनिलले दुईपक्षिय कुरा नबुझी कसैलाई पनि गालीगलौज नगर्न समर्थकलाई आग्रह गरेका छन् ।