काठमाडौं । त्रिभुवन आर्मी क्लबका गोलकिपर विकेश कुथु राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा नजाने भएका छन्।
विकेशले शुक्रबार सामाजिक संजाल फेसबुकबाट बन्द प्रशिक्षणमा सहभागी नहुने बताएका छन् ।
नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले प्रशिक्षणमा बोलाएका १७ जना नयाँ खेलाडीको सूचीमा विकेश अटाएका थिए ।
बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले प्रशिक्षण छाडेपछि अलमुताईरीले १७ नयाँ खेलाडीलाई अवसर दिएका हुन् ।
अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडी प्रशिक्षण छाडेर टिमबाट बाहिरिएका थिए ।
विकेशले आफु फिट भएको बेला मिडियामा बोलेको कारण टिम बाहिर राखिएको आरोप समेत लगाएका छन् ।
'हाल राष्ट्रिय टोलिमा भएको घटनाक्रम मलाई पूर्ण रुपमा अवगत भएको र खेलाडी साथीहरुमा पर्न गएको मर्का मैले बुझेको छु । साथै विगतमा म पूर्ण रुपमा फिट हुँदाहुँदै पनि मलाई मिडियामा बोलेको भनेर आरोप लगाउँदै राष्ट्रिय टिमबाट अलग गरिएको घटना यथावत नै छ,' विकेशले लेखेका छन्, 'तसर्थ म मेरो राष्ट्र र राष्ट्रिय टिमको सम्मान गर्दै यसपटक राष्ट्रका लागि सदा डटिरहने खेलाडी साथिहरुको जायज माग प्रति समर्थन जनाउँदै राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागी हुन असमर्थ रहेको जानकारी गराउँदछु ।'