पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजले एक्स्पर्ट धनगढी ब्लुजलाई जितका लागि १९४ रनको लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा टस हारेर ब्याटिङ गरेको पारस खड्काको चितवनले पुरै २० ओभरमा ५ विकेट गुमाएर १९४ रन जोड्यो । उत्कृष्ट सुरुवात गरेको चितवनका हरी शंकर साहले अर्धशतक बनाए । हरी ५३ रनमा आउट भए । उनले ३२ बलमा ५० रन पुरा गरेका थिए ।
हरीले पहिलो विकेटका लागि अनिल कुमार साहसंग १०१ रनको साझेदारी गरेका थिए । अनिल ३७ रनमा आउट भए ।
त्यस्तै स्मित पटेलले २४ रन जोड्दा कप्तान पारस खड्काले १९ रन जोडे । सन्नी पटेल २६ तथा करण केसी ११ रनमा अविजित रहे ।
धनगढीका दिपेन्द्र सिंह ऐरी, डान लरेन्स, योगेन्द्र सिंह कार्की र मन्जित श्रेष्ठले एक एक विकेट लिए ।
आज चितवन पहिलो जितको खोजीमा हुनेछ भने धनगढी दोस्रो जितको खोजीमा हुनेछ ।
अघिल्ला दुई खेलमा पराजित भएको चितवनलाई प्ले अफमा पुग्न जित्न्नै पर्ने दबाब छ । चितवन पहिलो खेलमा बुटवल ब्लास्टर्ससंग ७० रनले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा पोखरा पल्टनसंग ५ विकेटले पराजित भएको थियो ।
अघिल्ला दुई खेल गुमाएको कारण धनगढीविरुद्ध चितवन दबाबमा हुनेछ । धनगढीविरुद्ध पराजित भएमा चितवनको प्ले अफ यात्रा लगभग सकिनेछ ।
चितवनले दुई खेल खेल्दा अंकबिहिन रहेर लिगको अन्तिममा छ । तर, चितवनका कप्तान पारसले धनगढीविरुद्धको खेल जित्दै उत्कृष्ट पुनरागमन गर्ने लक्ष्य रहेको बताईसकेका छन् ।
यता, एक खेलमा जित र एक खेल हारेको धनगढीलाई पनि जित आवश्यक छ । चितवनविरुद्धको जितले धनगढीलाई प्ले अफ यात्रा सहज हुनेछ ।
२ खेलबाट २ अंक जोडेको धनगढी चौथो स्थानमा छ । पहिलो खेलमा हुलास काठमाडौं रोयल्ससंग १७ रनले पराजित धनगढीले दोस्रो खेलमा विराटनगर टाईटन्सलाई ७८ रनले हराएको थियो ।