काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ सकेपछि आयोजना भएको पुरस्कार वितरण समारोहमा सबैभन्दा खुसी देखिनेमा थिए, एनआरटीका खेलाडी, प्रशिक्षक र पदाधिकारी । नहोस पनि किन र ? एनआरटीले मनाङ मस्र्याङ्दी, थ्री स्टार र पुलिस जस्ता पारम्परिक शक्तिलाई उछिनेर तेस्रो स्थान हात पारेको थियो । त्यसो त एनआरटी आफैमा ऐतिहासिक क्लब हो, यसको विगत फर्केर हेर्ने हो भने नेपालमा फुटबल स्थापना भएका दिनसम्म फर्किनु पर्छ।
त्यति लामो समय नफर्केर पनि पछिल्लो दशकलाई मात्र आधार मान्ने हो भने पनि एनआरटीले अवधिमा बिताएको समय निकै उतारचढावपूर्ण रह्यो । एक समय त्यस्तो पनि आयो, जति बेला एनआरटीले लिग फुटबल नै नखेल्ने निर्णय गरेको थियो । एनआरटीको नयाँ इतिहास त वर्ष ०७५ बाट मात्र सुरु भयो भन्दा हुन्छ, जति बेला उसले फेरि ए डिभिजनमा खेल्न सुरु गरेको थियो । यी सबै पृष्ठभूमिमा अहिलेको सफलताले दिने भनेकै खुसी न हो, एनआरटीलाई ।
लिग सुरु हुन अगाडि नै एनआरटीको दाबी थियो, हाम्रो लिग जित्ने धेरै ठूलो महत्त्वकांक्षा छैन् । प्रशिक्षक राजु शाक्य भन्थे, लिगमा राम्रो गर्ने प्रयास गर्छौं । क्लबका मुख्य पदाधिकारी नरेन्द्र श्रेष्ठ पनि भन्थे, हामीलाई टिमले राम्रो खेले पुग्छ । एनआरटीले एउटा काम भने गरेको थियो, नेपालमा उपलब्ध विदेशी खेलाडीमध्ये सबैभन्दा राम्रा दुई मेसुके ओलुमोयु र स्टेफन बिनोङलाई अनुबन्ध गरेको थियो । अन्य नाम मात्र हेर्ने हो भने एनआरटी कमजोर पनि थिएन् ।
तर तिनले भने जस्तै लिगमा एनआरटीको सुरुआत राम्रो रहेन्, सुरुमै मछिन्द्रविरुद्धको खेलमा पराजित रह्यो, त्यसपछि सुरुआती तीन खेलमा जम्मा दुई अंक । अझ अघिल्ला आठ खेललाई आधार मान्ने हो भने जम्मा १० अंक । त्यति बेला टिम सातौं स्थानमा थियो र लागि रहेको थियो, कतै यसले रेलिगेसनबाट बच्न संघर्ष गर्नु पर्ने त होइन ? प्रशिक्षक शाक्यले त मिडियासामु निराशा पनि पोख्न सुरु गरिसकेका थिए । त्यसै पनि उनी खेलाडीमा बढी गुनासो गर्ने प्रशिक्षक हुन् ।
ओलुमोयु र बिनोङ चम्कन सकिरहेका थिएनन् । तर त्यसपछि जे भयो, त्यो नै एनआरटी शीर्ष तीन भित्र पर्नुको कारण थियो । अझ भन्दा लिगको अन्त्यतिर एनआरटीको प्रदर्शन राम्रो रह्यो । एनआरटीले लिगका आफ्ना अन्तिम पाँच खेलमा १३ अंक बटुलेको थियो, यो लगातार अविजित यात्रा पनि थियो । यसक्रममा उसले जावलाखेल, संकटा, मनाङ र पुलिस जस्तो टिमर्लाइ हराएको थियो । नवौंदेखि १२ चरणबीचका चार खेलमा क्लिन सिट पनि राख्यो ।
अनि पुलिसविरुद्ध अन्तिम दिनको खेलमा पुर्नआगमन पनि रच्यो । विशेषत: ओलुमोयुले पनि उम्दा खेले । सुरुमा तिनलाई मध्यपंक्तिबाट ढंगले पास उपलब्ध भइरहेको थिएन्, पछि सब ठीकठाक देखियो । मज्जाले भन्न सकिन्छ, एनआरटीले हात पारेको यो लय च्याम्पियन टिम बराबरको थियो । च्याम्पियन मछिन्द्र बराबरकै प्रदर्शन थियो यो । यसपल्टको लिगमा एनआरटीको प्रदर्शनको ठ्याक्कै ब्याख्या भन्नु नै ‘लेट कमब्याक’ नै हो, जुन वास्तवमै खुसी दिने खालको थियो ।
त्यसै त एनआरटी एक दशक भन्दा बढी समयपछि ए डिभिजनमा राम्रो नतिजा निकाल्न सफल रह्यो । वर्ष ०६६/०६७ को लिगमा एनआरटी तेस्रोमा रहेको थियो । वर्ष ०५२ मा लिग जितेयताकै यसपल्टको प्रदर्शन सबैभन्दा राम्रो हो भन्दा फरक पर्दैन् । अब प्रश्न खालि यही हो, अबको सिजनमा एनआरटीले कस्तो टिम बनाउने छ त ? क्लबका पदाधिकारीका भनाइलाई आधार मान्ने हो भने एनआरटी अब केही महत्त्वकांक्षी हुने समय भने आएको छ ।
तथ्यांकमा एनआरटी -
कुल खेल : १३
अंक जोडेको : २३
गोल गरेका : १६
गोल खाएको : १०
गोल गर्ने खेलाडी : मेसुके ओलुमोयु (७), दर्शन गुरुङ (४), स्टेफन बिनोङ (३), अशोक थापा (१), दीपेश घले (१)
विना सब्टिच्युट सबै खेल खेल्ने खेलाडी : मेसुके ओलेमायु
प्रतियोगितामा उतारेको कुल खेलाडी संख्या : २५
कृतिशरत्न छुन्जु, दर्शक गुरुङ, अजित प्रजापति, एरिक विष्ट, अशोक थापा, नवीन गुरुङ, विक्रम धिमाल, आन्द्रे थिएरी, मेसुके ओलुमोयु, स्टेफन बिनोङ, शिव गुरुङ, दीपेश घले, रञ्जन विष्ट, संजीव विष्ट, राजेश परियार, सरोज तामाङ, सनम लिम्बू, विवेक गुरुङ, मनीष सेढाइ, रुजित पुडासैनी, विशाल तामाङ, पुजन होना, लक्ष्मण गुरुङ, सुजन शर्मा र निशान लामा ।