महिला टिम, पुरुष म्यानेजर !

काठमाडौं। नेपाल महिला राष्ट्रिय फुटबल टोली अहिले महत्त्वपूर्ण मोडमा छ। ‘ब्रेक थ्रु’को खोजीमा थ्री नेसन्स कप खेल्न यो टोली आइतबार इन्डोनेसिया प्रस्थान गरेको छ।
२६ नोभेम्बरमा घरेलु टोली इन्डोनेसिया र २ डिसेम्बरमा चाइनिज ताइपेईसँग खेल्ने तय छ। तर, यसबीच एउटा निर्णयले धेरैको ध्यान तानेको छ। त्यो हो महिला राष्ट्रिय टिममा पुरुष टिम म्यानेजरको नियुक्ति।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला टिमका लागि टिम म्यानेजरको जिम्मेवारी आफ्नै प्रवक्ता सुरेश शाहलाई सुम्पिएको छ। यसअघि एन्फाले उमेर समूह होस् या सिनियर जुनसुकै महिला टोली होस् महिला म्यानेजर नै नियुक्त गर्दै आएको थियो।
तर, यसपल्ट सबैको विदेश कोटा पूरा गर्न प्रवक्ता शाहलाई नै म्यानेजरमा नियुक्त गरेको हो। ‘सबै पालैपाो विदेश गइरहेका छन्। उहाँ मात्रै बाँकी रहनुभएकोले कोर्टा पूरा गर्न अध्यक्ष (पंकजविक्रम नेम्वाङ) र महासचिव (किरण राई)ले पठाउने निर्णय गर्नुभयो। यसले केही प्रश्नहरू खडा गरिरहेका छन्,’ एन्फाका एक पदाधिकारीले खेलपाटीसँग भने।

महिला फुटबलको संरचना विगत केही वर्षयता विकसित हुँदै आएको छ। खेलाडीहरू व्यावसायिकताबाट अघि बढिरहेका छन्। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा टिमले राम्रो सम्भावना देखाएको छ। त्यहीबीच व्यवस्थापन तहमा ‘लैंगिक सन्तुलन’को विषय पनि उठ्ने गरेको छ।
धेरैले महिला टोलीसँग महिलामैत्री वातावरण बनाउन सम्भव भएसम्म महिला टिम म्यानेजर वा प्रशासनिक जिम्मेवारीमा महिलाकै संख्या बढाइनुपर्ने धारण राख्दै आएका छन्। तर, एन्फा भने महिला टोलीमा पनि पुरुष म्यानेजर नियुक्त गरेर विपरीत दिशामा जाने संकेत देखाइरहेको छ।
हुन त अधिकांश खेलाडी पुरुष प्रशिक्षक राख्दा नै सहज मान्दैनन्। महिलासम्बन्धी समस्या सुनाउन असहज हुने भएको कारण महिला नै प्रशिक्षक होस् भन्ने धारण व्यक्त गर्छन्।
तर, एन्फाले महिला प्रशिक्षक अहिलेसम्म नियुक्त गर्न सकेको छैन। बरु सहायक प्रशिक्षकमा भने भगवती रानालाई पुन: जिम्मेवारीमा दोहोर्याइएको छ। यसअघि म्यानेजरको भूमिकामा विदेश सयर गर्दै आएकी बृन्दा देवानलाई भने एन्फाले यसपल्ट छुटाएको छ।
महिला फुटबलमा टिम म्यानेजरको भूमिका प्रशासनिक जिम्मेवारीमा मात्र सीमित छैन। महिला टोलीका खेलाडीहरूको सुरक्षा, गोपनीयता र सहज वातावरण सुनिश्चित गर्नु उसको पहिलो प्राथमिकता हो।
यात्रा, बसोबास र चेन्जिङ रुमको व्यवस्था यस्तो हुनुपर्छ कि खेलाडी मानसिक रूपमा सुरक्षित महसुस गर्न सकून्। साथै, स्वास्थ्य, हाइजिन र पोषणजस्ता महिलाका आवश्यकताहरू व्यवस्थापन गर्नु पनि टिम म्यानेजरको काम हो। आकस्मिक स्वास्थ्य समस्याहरूमा उचित सहयोग र विशेषज्ञ चिकित्सकसँग समन्वय गर्ने जिम्मेवारी पनि म्यानेजर माथि नै हुन्छ।
म्यानेजर खेलाडीहरूसँग विश्वास र सहजता निर्माण गर्ने भूमिकामा रहन्छन्। धेरै खेलाडीहरू आफ्नो समस्या वा असहजता खुला रूपमा व्यक्त गर्न सहज महसुस नगर्ने हुन्छ। त्यसैले महिला टिम म्यानेजर भए उनीहरूलाई खुला रूपमा कुरा राख्ने अवसर दिन्छ र टोलीमा सुरक्षित वातावरण बनाउँछ। यसले खेलाडीहरूको मानसिक स्वास्थ्य र प्रदर्शनमा मात्र सुधार ल्याउँदैन, टोलीको एकताको भावना पनि बलियो बनाउँछ।
प्रशिक्षकले मैदानभित्र खेललाई ध्यान दिने गर्छन्। टिम म्यानेजरले भने मैदानबाहिरका सबै व्यवस्थापन सम्हाल्नुपर्ने हुन्छ। खेलाडीहरूले यात्रा, होटल, तालिका, कागजात तथा प्रशिक्षक र संघसँगको समन्वय सुनिश्चित गर्नुपर्ने जिम्मेवारी पनि म्यानेजरमाथि नै हुन्छ। खेलाडीहरूको अनुशासन, समयपालन र आचारसंहिताको पालनामा पनि म्यानेजरको निगरानी हुनुपर्छ।
महिला टिम म्यानेजर हुनुको अर्को महत्वपूर्ण पक्ष भनेको नेतृत्व र लैंगिक संवेदनशीलता हो। उनी खेलाडीका लागि रोल मोडेल बन्ने मात्र होइनन्, महिला टोलीको विचार, आवश्यकताहरू र चुनौतीहरू संघ वा प्रशिक्षकसम्म पुर्याउनेको रूपमा काम गर्छन्। आकस्मिक समस्या आएमा तुरुन्त समाधान खोज्नु, स्वास्थ्य र मानसिक अवस्था जाँच्नु र गोपनीयता कायम गर्नु पनि म्यानेजरको जिम्मेवारी हो।
यसरी फुटबलमा महिला टिम म्यानेजरले टोलीलाई व्यवस्थित, सुरक्षित र प्रेरित वातावरणमा सञ्चालन गर्ने महत्त्वपूर्ण भूमिका खेल्छन्। तर, शाहले यो जिम्मेवारी कसरी निर्वाह गर्छन् ? महिला खेलाडीहरूले कति सहज महसुस गर्छन् ? यी प्रश्नहरूको जवाफ भने टिमको प्रदर्शन र भित्रको वातावरणले नै दिनेछ।











-1763904378702.png&w=3840&q=75)



