मेसी र रोनाल्डोको कीर्तिमानतिर आँखा लगाउँदै एमबाप्पे
-1764209252132.webp&w=3840&q=75)
काठमाडौं। रियल मड्रिडका सुपरस्टार किलियन एमबाप्पेले बुधबार च्याम्पियन्स लिगमा करिअरकै ऐतिहासिक रात बिताएका छन्।
उनले ओलिम्पियाकोसविरुद्ध ४–३ को जित दिलाउने क्रममा चार गोल गरे। यसमध्ये तीन गोल सात मिनेटभित्र गरेका हुन्। योसँगै प्रतियोगिताको इतिहासमै दोस्रो छिटो ह्याट्रिकको कीर्तिमान उनले आफ्नो नाममा दर्ज गरे।
खेलको सुरुआत ओलिम्पियाकोसले गरेको थियो। आठौं मिनेटमा चिकीन्होले घरेलु समर्थकलाई खुसी पार्दै टोलीलाई अग्रता दिलाए।
तर, त्यहाँबाट खेल पूरै एमबाप्पेले कब्जा गरेझैं भयो। २२औं, २४औं र २९औं मिनेटमा उनले तीन भिन्न किसिमबाट गोल गर्दै मड्रिडलाई क्षणमै खेलमा फर्काए। उनलाई रोक्ने कुनै रक्षा संरचना त्यो क्षणमा देखिएन।
रियलले पछिल्ला तीन खेलमा जित नपाएका कारण दबाबमा थियो। त्यसैले यो जित र एमबाप्पेको विस्फोटक रात टिमका लागि अत्यन्त महत्त्वपूर्ण बन्यो। खेलपछि एमबाप्पे स्वयं पनि त्यसैको संकेत दिँदै बोले, ‘फेरि जित्नु आवश्यक थियो। लगातार तीन खेल नजित्नु हाम्रो स्तरका लागि धेरै हो। शीर्ष ८ मा रहनैपर्छ हाम्रो लक्ष्य अहिले यही हो।’
दोस्रो हाफमा ५२औं मिनेटमा तारेमीले ओलिम्पियाकोसलाई आशा जगाउने गोल गरे। तर, ६०औं मिनेटमा एमबाप्पेले आफ्नो चौथो गोल थप्दै त्यो आशा निराशामा परिणत गर्दिए। अन्त्यतिर ८१औं मिनेटमा एल काबीले गोल गरे पनि खेलमा फर्कन त्यो पर्याप्त हुन सकेन।
यो रात एमबाप्पेका व्यक्तिगत कीर्तिमानहरूसँग पनि जोडियो। पाँचौं पटक उनले च्याम्पियन्स लिगमा ह्याट्रिक गरेका हुन्। यो सिजनमै उनको दोस्रो ह्याट्रिक हो। यसअघि नै उनले कायरतविरुद्ध तीन गोल गरिसकेका थिए।
अझ विशेष कुरा उनले पाँचमध्ये दुई ह्याट्रिक पेरिस सेन्ट–जर्मेनलाई (पीएसजी) खेल्दा गरेका थिए। अब उनी च्याम्पियन्स लिगमा ९ गोलसहित सिजनका शीर्ष स्कोरर बनेका छन्। गलातासारायका ओसिमेहनभन्दा उनी तीन गोल अघि छन्।
रियलसँग उनको यो सिजनको गोल संख्या १८ खेलमा २२ पुगेको छ, जुन एकदम प्रभावशाली प्रदर्शन मानिन्छ। लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोले आठ–आठ ह्याट्रिक बनाएको तथ्यलाई हेर्दा एमबाप्पे अझै ती स्तरभन्दा तल छन्।
तर, उनको गति, प्रहार, आत्मविश्वास र निरन्तरता हेर्दा अहिले नै फुटबल संसारले नयाँ ऐतिहासिक दौडको संकेत पाएको जस्तो देखिन्छ। रियलका प्रशिक्षक जाबी अलोन्सोले खेलपछि एमबाप्पेको योगदानको प्रशंसा गरे।
‘गोल त उनको प्राकृतिक प्रतिभा हो, तर त्यो मात्र मुख्य होइन। उनको व्यक्तित्व, टोलीलाई अघि सार्ने क्षमता, सतही रूपमा देखिँदैन तर खेलमा ठूला प्रभाव पार्ने गुणहरू छन्। यी सबैका कारण उनी विशेष छन्,’ उनले भने।






-1764208683062.webp&w=3840&q=75)



%20(1)-1764163746521.jpeg&w=3840&q=75)
-1764163211372.jpg&w=3840&q=75)
%20(1)-1764162634072.jpeg&w=3840&q=75)