काठमाडौं । साविक विजेता अल्जेरिया अफ्रीका कप अफ नेसन्सको समूह चरणबाट बाहिरिएको छ ।
बिहीबार राति भएको खेलमा आइभरी कोस्टसँग ३-१ गोल अन्तरले पराजित भएपछि अल्जेरिया बाहिरिएको हो ।
आइभरी कोस्ट भने समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ ।
आइभरी कोस्टलाई जित दिलाउन फ्रान्क केस्सी, इब्राहिम सांगारे र निकोलस पेपेले एक एक गोल गरे ।
अल्जेरियाका सोफियाने बेन्डेबकाले एक गोल फर्काए ।

यस्तै अल्जेरियाका रियाद महरेजले पेनाल्टीमा गोल गर्न चुकेका थिए ।
यस जितसँगै समूह ई को आइभरी कोस्टाले ३ खेलमा ७ अंक जोड्यो ।
अल्जेरिया १ अंक जोडेर समूहको पुछारमा रह्यो ।
यस समूहबाट इक्वेटोरियल गिनी समूह उपविजेता बन्यो ।
इक्वेटोरियल गिनीले बिहीबार राति सिएरा लियोनलाई १-० ले हराएको थियो ।
गिनीले ३ खेलमा ६ अंक जोड्यो ।