पोखरा । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार एक खेल हुँदैछ ।
पोखरा रंगशालामा हुने प्रि-क्वाटरफाइनल खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ ।
यस अघि बिहीबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २-० ले हराएर एपीएफ क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।
आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनासहित मैदान उत्रने छन् । यस खेलको विजेताले अन्तिम आठमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ ।
त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटरले गरेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन् ।