पोखरा । मनबहादुर तामाङको कप्तानीले सहारा फुटबल क्लब पोखराले आहा रारा गोल्डकप फुटबल खेल्ने भएको छ ।
घरेलु फुटबलकै प्रतिष्ठित प्रतियोगिता आहा रारा गोल्डकपमा आयोजक टिमको कप्तानी तामाङले गर्ने पक्का भएको हो ।
तामाङले ए डिभिजन क्लब सातदोबाटो युथ क्लबको समेत कप्तानी गरिरहेका छन् । उनकै कप्तानीमा सातदोबाटोले पहिलो सिजनको लिग फुटबलमा उत्कृष्ट प्रर्दशन गरिरहेको छ ।
उनै तामाङ सहित सातदोबाटोका ५ खेलाडीलाई समावेश गर्दै आयोजक सहारा फुटबल क्लबले टिम तयार बनाएको छ ।
सहाराबाट मनबहादुर सहित ५ जना सहित सातदोबाटो युथ क्लबका छन् । सातदोबाटोका अभिषेक बराल, पासाङ लामा र विदेशी खेलाडीद्धय पिटर सेगुन र अजायी मार्टिनले आहा रारा गोल्डकप सहारा क्लबबाट खेल्नेछन् ।
सातदोबाटोका कप्तान समेत रहेका तामाङले आयोजकको आग्रह अनुसार आफुहरु सहारा क्लबबाट आहा रारा गोल्डकप खेल्न लागेको बताए ।
‘क्लबको आपसी समझदारीमा हामी आहा रारा गोल्डकपमा उत्रन लागेका हौं । यसमा सहाराले समेत अनुरोध गर्यो । खेलाडीलाई लोनमा खेलाउन सक्ने प्रावधान अनुसार सहाराबाट पोखरामा खेल्न लागेका हौं ।’ तामाङले खेलपाटीसँग भने ।
सहारा अन्य खेलाडी एकेडेमीबाट समावेश गरेको छ । सहारा क्लबको टिममा सुसिल लामा, कलम शोमाई, विशाल नेपाली, मुकुन्द न्यौरे, नवराज धमेल, जिवन रायमाझी, अन्जन देवकोटा, अनिल गुरुङ, शाहिल गुरुङ, सुमित श्रेष्ठ, सन्दिप पोखरेल, गंगा गुरुङ, भागवत चौधरी, प्रमिश गुरुङ, शुशिल वराल, संगम गैरे, प्रशन्न लामा, प्रशन्न श्रेष्ठ र सरोज गुरुङ रहेका छन् ।
सहाराले उद्घाटन खेलमा विभागीय टिम एपीएफसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
बिहीबार सुरु हुने प्रतियोगितामा माघ १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा एक विदेशी सहित शीर्ष डिभिजन लिगका ९ क्लब सहभागी हुनेछन् ।