पोखरा । कोरोना संक्रमणका कारण २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता इतिहासमै पहिलो पटक दर्शक विना नै आयोजना हुने भएको छ ।
प्रशासनले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी मानिस भेला हुन नपाउने नियम लागु गरेपछि आयोजक, प्रायोजक, अफिसियल, खेलाडी र पत्रकारलाई मात्र रंगशालामा प्रवेश दिइने छ । रंगशाला प्रवेशका लागि खोपकार्ड अनिवार्य गरिएको छ ।
१६ हजार पाँच सय सिट क्षमता रहेको रंगशालामा एक चौथाई मात्र दर्शक राखेर प्रतियोगिता सञ्चालन गर्न प्रशासनले अुनमति दिएपनि जोखिम नमोल्ने मनासयले आफूहरुले दर्शक विना नै प्रतियोगिता आयोजना गर्न लागेको क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक केशवराज बरालले बताए ।
तर दर्शक विना आयोजना हुने प्रतियोगिताले एकेडेमी सञ्चालनमा भने असर पुग्ने देखिएको छ । खेलपाटीसंग कुरा गर्दै क्लबका महासचिव रामजीप्रसाद अधिकारीले गत बर्षको आहा रारा गोल्डकपको टिकट विक्रिबाट मात्रै २१ लाख भन्दा बढी रकम संकलन भएको बताउँदै यसले एकेडेमी सञ्चालनमा समेत असर पुग्ने बताए । यसका लागि प्रदेश सरकार र अन्य संघ संस्थाहरुसंग सहकार्य गर्ने महासचिव अधिकारीले बताए । पोखरा १७ दोविल्लामा रहेको एकेडेमीमा हाल १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । सो एकेडेमीको मुख्य श्रोत नै आहा रारा गोल्डकप फुटबल प्रतियोगिता हो ।
आयोजक सहारा क्लबले मंगलबार खेलतालिका सार्वजनिक गरेको छ । माघ ६ देखि १५ गते सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र विभागीय टिम एपिएफ क्लबबिच प्रतिस्पर्धा हुने छ । १० टिमको सहभागिता रहने प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेता टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ । त्यस्तै सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट पाँच विधाको पुरस्कार प्रदान गरिने छ भने नगद ३५ हजारबाट सर्वोकृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान–२०७८ बाट एक जना राष्ट्रिय खेलाडीलाई सम्मान गरिने क्लबका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ ले बताए ।
प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गर्दै आइरहेको छ । द्धितिय पुरस्कारको प्रायोजन सहारा क्लब हङकङ, सर्वोकृष्ट खेलाडी पुरस्कार अप्रिला स्कुटरले गरेको छ । सह उपप्रायोजकमा मुलबेरी इन्सिच्युट अफ हस्पिटालिटि रहेको छ ।