काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण मंगलबारबाट सुरु भएको छ ।
अफ्रिकी राष्ट्र मरिससविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालले मंगलबारबाट तयारी सुरु गरेको हो ।
नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्ने छ । मैत्रीपूर्ण खेल जनवरी २९ र फेब्रुअरी १ मा हुनेछ।
राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताईरीले बन्द प्रशिक्षणमा ३५ खेलाडी बोलाएका छन्।
यस पटक धेरै नयाँ खेलाडीले बन्द प्रशिक्षणमा मौका पाएका छन् । जसमध्ये आशिष राई र प्रशान्त अवस्थी पनि हुन् ।
मिडफिल्डर आशिष च्यासल युथ क्लबबाट ए डिभिजन लिग खेलिरहेका छन् । तर, उनलाई बन्द प्रशिक्षणमा पर्छु जस्तो लागेको थिएन ।
'खुशी लागेको छ । मलाई बन्द प्रशिक्षणमा पर्छु जस्तो लागेकै थिएन । बोलाउनु भयो । खुशी लागिरहेको छ,' मंगलबार संचारकर्मीसँग कुरा गर्दै आशिषले भने, 'प्रशिक्षण राम्रो लागिरहेको छ । अलि नर्भस छु पहिले यसरी गरेको थिएन त्यसैले अलिकति नर्भस छु । दाइहरुले गल्ति गर्दा पनि सपोर्ट गरिरहनु भएको छ । मोटिभेट गरिरहनु भएको छ ।'
सातदोबाटोबाट लिग खेलिरहेका प्रशान्तले पनि सुरुआतमा आफुलाई विश्वास नलागेको बताए ।
'सुरुमा विश्वास गरेको थिइन् । धेरै नै खुशी लागेको छ । फुटबल खेल्न सुरु गरेबाट नै राष्ट्रिय टिममा पर्ने सोच थियो । हरेक दिन त्यहिँ सोचेर ट्रेनिङ गरेको थिए । महेनत गरे । यति छिटो टिममा पर्छु भन्ने सोचेको थिइन,' उनले भने, 'मोटिभेट भएको छु, मेहेनत गरेर सबैसँग सिकेर राष्ट्रिय टिममा पर्नेछु ।'