काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुलाह अलमुताइरीले नेपाल अफ्रिकी राष्ट्र मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि तयार रहेको बताएका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबारबाट सुरु भएको बन्द प्रशिक्षकका क्रममा अलमुताइरीले मैत्रीपूर्ण खेलका लागि नेपाल तयार रहेको बताएका हुन् ।
नेपालले दशरथ रंगशालामा जनवरी २९ र फेब्रुअरी १ तारिखमा मरिससविरुद्धको मैत्रीपूर्ण खेल्ने तालिका रहेको छ ।
पछिल्लो पटक कोभिड–१९ का कारण खेलाडीहरु प्रभावित भइरहेपनि अलमुताइरीले टोलीमा उपलब्ध खेलाडीहरुले मैत्रीपूर्ण खेल्ने बताए ।
‘खेलाडीमा कोभिड लागे उपलब्ध खेलाडीहरुले मरिससविरुद्धको मैत्रीपूर्ण खेल खेल्नेछन्,’ अलमुताइरीले भने ।
उनले वर्तमान कप्तान तथा गोलरक्षक किरण चेम्जोङले मैत्रीपूर्ण खेल्ने वा नखेल्ने अहिले सुनिश्चित नभएको बताए ।
‘किरण चेम्जोङको २४ तारिखमा क्लबको खेल छ । त्यसपछि उ नेपाल फर्किन्छ, अनि उसले खेल्न सक्ने वा नसक्ने भन्ने बारेमा हामी हेर्नेछौ,’ अलमुताइरीले थपे ।
क्लबहरुले खेलाडीमाथि दवाव दिएको भन्दै अलमुताइरीविरुद्ध एन्फामा गुनासो गरेपछि अलमुताइरीले ए डिभिजन लिगका पछिल्ला खेलहरु टेलिभिजनमा हेरेका थिए ।
तर टेलिभिजनमा हेरेर खेलाडी छनोटमा समस्या हुने गरेको उनको गुनासो थियो ।
‘मैले लिगका पछिल्ला खेलहरु टेलिभिजनमा हेरे । सबै खेल केवल एक पटक मात्र नभएर चार–चार पटक हेरे । तर टेलिभिजनमा हेर्दा विज्ञापनले गर्दा त्यति ध्यान केन्द्रित हुदैन । मैदानमा रहेर खेलाडी छनोट गर्न सजिलो हुन्छ,’ उनले भने ।
‘तर खेलाडीको समस्या के छ र उनीहरुबाट मलाई के चाहिन्छ त्यो मलाई थाहा छ,’ अलमुताइरीको भनाई थियो ।