काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ को नवौं चरण लगभग टुंगेको छ, पुलिस र च्यासलबीच स्थगित एक खेल बाहेक ।
यस स्थितिमा लिगमा अब खालि दुई टिम मात्र अपराजित रहेका छन्, डिफेन्डिङ च्याम्पियन मछिन्द्र र आर्मी ।
संयोगले आर्मी पछिल्लो लिगको उपविजेता नै हो । नवौं चरणमा आएर संकटाले आफ्नो अपराजित यात्रा गुमाएको हो ।
थ्री स्टारले संकटालाई यो चरणमा हराएको हो । नवौं चरणमा दुई महत्त्वपूर्ण जित निकाल्ने टिम रहे, मछिन्द्र र थ्री स्टार।
मछिन्द्रले ब्रिगेड ब्वाइजलाई हराएर शीर्ष स्थानमा चार अंकको अग्रता खोलेको छ । लिगमा अब चार चरणका खेल मात्र बाँकी रहेको स्थितिमा यो ठोस अग्रता नै हो र मछिन्द्रले लिग उपाधिको सपना बुन्न सक्छ ।
मछिन्द्रको २३ अंक भएको छ भने दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दीको १९ अंक छ । त्यस अर्थमा नवौं चरणमा सबैभन्दा घातक सावित हुने हार बेहोरेको टिम रह्यो, मनाङ नै ।
थ्री स्टारले भने संकटालाई हराएर पहिलो पल्ट शीर्ष चारमा स्थान बनाएको छ, संकटा पाँचौं स्थानमा झरेको छ ।
अपराजित आर्मी १७ अंकमा तेस्रो र थ्री स्टार १६ अंकमा चौथो स्थानमा छ । थ्री स्टार पछिल्ला सात खेलदेखि अपराजित छ र त्यसमध्ये पनि पछिल्ला तीन खेलमा लगातार विजयी रहेको छ ।
यसक्रममा थ्री स्टारले अंक तालिकामा छलाङ मारिरहेको छ । थ्री स्टार छैटौं चरणमा सातौं, सातौं चरणमा पनि छैटौं, आठौं चरणमा पाँचौं र नवौं चरणमा चौथो चरणमा क्रमश: अगाडि बढ्दै गएको छ ।