एजेन्सी । श्रीलंकाका पुर्व टेष्ट कप्तान रंगना हेराथले इंग्ल्यान्डविरुद्धको टेष्ट सिरिजपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका छन् ।
श्रीलंकाले आगामी नोभेम्बरमा गल्लेमा इंग्ल्यान्डसंग तीन खेलको टेष्ट सिरिज खेल्दैछ । घरेलु मैदानमा हुने उक्त टेष्ट सिरिजपछि भेट्रान क्रिकेटर हेराथले सन्यास लिने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ ।
निर्धारित ओभरको क्रिकेटबाट सन्यास लिईसकेका स्पिनर हेराथले टेष्ट क्रिकेट भने खेल्दै आएका छन् । ४० बर्षिय हेराथले पछिल्लो समय गत जुलाईमा दक्षिण अफ्रीकाविरुद्धको टेष्ट खेलेका थिए ।
हेराथ टेष्ट क्रिकेटमा सर्वाधिक विकेट लिने १० सर्वकालीन बलरमा पर्ने गर्छन् । उनले ९२ खेलमा ४३० विकेट लिईसकेका छन् ।
हेराथ १९९० को दशकमा डेब्यु गरेर अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्ने एक्ला खेलाडी हुन् । उनले सन् १९९९ मा अष्ट्रेलियाविरुद्ध गल्लेमा डेब्यु गरेका थिए ।
हेराथले डेब्यु गरेको गल्लेको मैदानमा अन्तिम खेल खेल्दै सन्यास लिनेछन् । उनले गल्लेको मैदानमा मात्र ९९ टेष्ट विकेट लिएका छन् ।