इलाम । पोखरा आयोजना हुने २० औं आहा रारा गोल्डकपको लागि अमेरिकाबाट नेपाली मुलका खेलाडी सम्मिलित एउटा टिम सहभागि हुने भएको छ ।
नेपाली यू–२३ एवम झापा–११ का पूर्व गोलरक्षक दिनेश थापा मगरको कप्तानीमा बीवाइएससी क्लब मिनिसोटाले आहा रारामा सहभागिता जनाउन लागेको हो ।
२५ सदस्यीय टोलीको प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर एवम थ्री स्टारका पूर्व खेलाडी प्रलय राजभण्डारी रहेका छन् । टिमको उपकप्तानमा यू–१९ का पूर्व सदस्य धिरज तामाङ र टिम मेनेजर शिव हुमागाई रहेका छन् ।
बीवाइएससी टिम २८ डिसेम्बरमा अमेरिकाबाट नेपाल आएर केही समय इटहरी र इलामका प्रशिक्षण गर्नेछ । प्रशिक्षक प्रलयका अनुसार टिमले इटहरीमा १० दिन, इलामका ४ दिन र काठमाण्डौमा ३ दिन प्रशिक्षण गरेर पोखरा जानेछ । टिमले ३ वटा मैत्रीपूर्ण खेलमा समेत सहभागिता जनाउने भएको छ ।
७÷८ जना विदेशी र अन्य नेपाली मुलका खेलाडीहरु टोलीमा रहेको प्रलयले जानकारी दिए । यसअघि प्रलयको नेतृत्वमा अमेरिकामा रहेको नेपालीहरुको टिमले १५ औं आहा रारामा सहभागिता जनाएको थियो ।