काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा अहिलेसम्म एकै जित पनि निकाल्न असफल एक मात्र टिम फ्रेन्ड्स रहेको छ ।
पाँचौं चरणको समाप्तीमा फ्रेन्ड्स दुई अंकमै सीमित रहेर अन्तिम स्थानमा रहेको छ र उसमाथि रेलिगेसनबाट बच्न कडा दबाब रहेको छ ।
लिगका पछिल्ला पाँच संस्करणलाई आधार मान्ने हो भने फ्रेन्ड्सको सुरुआत कमजोर रहँदै आएको छ । वर्ष ०७६ को पछिल्लो लिगमा पनि पाँच चरण सकिंदा फ्रेन्ड्स ठ्याक्कै दुई अंकमै सीमित थियो र १३ औं स्थानमा थियो ।
वर्ष ०७५ मा पनि फ्रेन्ड्सले सुरुआती पहिलो खेल गुमाएको थियो भने दोस्रो खेल बराबरी खेलेको थियो । तर त्यसपछिका तीन खेल लगातार जितेर उसले पाँचौं चरणको समाप्तीमा १० अंक बटुलेको थियो ।
वर्ष ०६९ मा फ्रेन्ड्सको पाँचौं चरणको समाप्तीमा पाँचै अंक मात्र थियो । वर्ष ०६८ मा पनि फ्रेन्ड्सको सुरुआत कमजोर नै रह्यो र पाँच खेलपछि तीनै अंक मात्र कमाएको थियो ।
त्यस लिगमा फ्रेन्ड्स पहिलो खेल जितेपछि त्यसपछिका चार खेलमा लगातार पराजित रहेको थियो ।