काठमाडौं । युएईमा जारी अफगानिस्तान प्रिमियर लिग (एपीएल) क्रिकेटको पहिलो सेमिफाइनलमा सन्दीप लामिछाने रहेको नगरहर लिओपार्डसले अहिले बल्ख लिजेन्ड्सविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
युएईको शारजाहमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप रहेको टिम लिओपार्डसले फाइनल प्रवेशका लागि लिजेन्ड्सविरुद्ध खेलिरहेको हो ।
तर, लिजेन्ड्सविरुद्धको सेमिफाइनल खेलमा सन्दीप लिओपार्डसको टोलीमा परेका छैनन् । आजको खेलमा सन्दीपलाई बेन्चमा राखिएको छ ।
पक्टिया प्यान्थर्सविरुद्ध डेब्यु गरेका सन्दीप लगातार दोस्रो पटक टिममा नपरेका हुन् । यसअघि बुधबार भएको समूह चरणको अन्तिम खेल लिजेन्ड्सविरुद्ध पनि सन्दीप टोलीमा अटाएका थिएनन् ।

मलेसियामा सम्पन्न आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह 'बी' खेलेर सन्दीप एपीएल खेल्न युएई गएका हुन् ।
सन्दीपले डेब्यु खेलमा भने उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले डेब्यु खेलमा दुई विकेट लिएका थिए ।
समूह चरणको दुई भेटमा लिओपार्डस र लिजेन्ड्सले एक एक जित र एक एक हार बेहोरेका थिए ।
अहिले दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।