काठमाडौं । युएईमा जारी अफगानिस्तान प्रिमियर लिग (एपीएल) क्रिकेटको पहिलो सेमिफाइनलमा सन्दीप लामिछाने रहेको नगरहर लिओपार्डसले आज (शुक्रबार) बल्ख लिजेन्ड्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप रहेको टिम लिओपार्डसले फाइनल प्रवेशको लागि लिजेन्ड्सविरुद्ध खेल्न लागेको हो । युएईको शारजाहमा हुने लिओपार्डस र लिजेन्ड्सबीचको खेल नेपाली समय अनुसार राति ९:४५ मा सुरु हुनेछ ।
मलेसियामा सम्पन्न आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह 'बी' खेलेर सन्दीप एपीएल खेल्न युएई गएका हुन् । आज मैदान उत्रन पाए सन्दीपले एपीएलको दोस्रो खेल खेल्ने छन् ।
यसअघि आइतबार सन्दीपले पक्टिया प्यान्थर्सविरुद्धको खेलमा मैदान उत्रदै एपीएलमा डेब्यु गरेका थिए । सन्दीपले डेब्यु खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले डेब्यु खेलमा दुई विकेट लिएका थिए । तर, त्यसपछिको दोस्रो खेलमा भने सन्दिप टिममा परेका थिएनन् ।
समूह चरणको दुई भेटमा लिओपार्डस र लिजेन्ड्सले एक एक जित र एक एक हार बेहोरेका थिए । आज हुने खेलमा दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।