एजेन्सी । युएईले टेष्ट राष्ट्र अष्ट्रेलियासंग पहिलो पटक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मौका पाएको छ । अष्ट्रेलिया र पाकिस्तानबीचको टी-ट्वान्टी सिरिज अघि युएईले अष्ट्रेलियासंग खेल्ने मौका पाएको हो ।
युएईले अष्ट्रेलियासंग २२ अक्टोबरमा पहिलोपटक टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्ने छ । युएईले गत मार्चमा नेपालसंगै एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो ।
जिम्बावेमा सम्पन्न विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएपछि नेपाल र युएईले स्वत टी-ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।
अष्ट्रेलियाले पाकिस्तानसंगको खेलअघि युएईसंग अभ्यास खेल खेल्न लागेको हो । तर, क्रिकेट अष्ट्रेलिया र पाकिस्तान क्रिकेटबाट स्वीकृति भएपछि यस खेलले अन्तर्राष्ट्रिय मान्यता पाएको हो । खेल आबुधावीमा हुनेछ ।
युएईपछि अक्टोबर २४ बाट अष्ट्रेलियाले पाकिस्तानसंग तीन खेलको सिरिज खेल्नेछ ।
युएईले हालसम्म २६ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेको छ । जसमा ९ जित निकालेको छ भने बाँकी खेल गुमाएको छ ।
नेपालले भने पछिल्लो समय इंग्ल्यान्डको लर्ड्समा नेदरल्याण्डसंग टी-ट्वान्टी खेलेको थियो । तर, उक्त खेल बर्षाको कारण रद्द भएको थियो । त्यसपछि नेपालले नेदरल्याण्डसंग उसैको मैदानमा एक दिवसीय सिरिज खेलेको थियो ।