काठमाडौं । युएईमा जारी अफगानिस्तान प्रिमियर लिग (एपीएल) क्रिकेटमा सन्दीप लामिछाने रहेको नगरहर लिओपार्डसले अहिले बल्ख लिजेन्ड्सविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
युएईको शारजाहमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप रहेको टिम लिओपार्डसले समूह चरणको अन्तिम खेलमा लिजेन्ड्सविरुद्ध खेल्न लागेको हो ।
तर, लिजेन्ड्सविरुद्धको खेलमा सन्दीप लिओपार्डसको टोलीमा परेका छैनन् । आजको खेलमा सन्दीपलाई बेन्चमा राखिएको छ । पक्टिया प्यान्थर्सविरुद्ध डेब्यु खेलमा उच्च प्रदर्शन गरेपनि सन्दीपलाई लिओपार्डसले टिममा नराखेको हो ।
मलेसियामा सम्पन्न आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह 'बी' खेलेर युएई गएका सन्दीपले डेब्यु खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले डेब्यु खेलमा दुई विकेट लिएका थिए । तर, उक्त खेलमा सन्दीपको टिम ७ विकेटले पराजित भएको थियो ।

लिगमा सन्दीपको टिम चौथो स्थानमा छ । लिओपार्डस ७ खेलबाट ४ अंक जोडेको छ । र, लिओपार्डस आज लिजेन्ड्सलाई हराएर सेमिफाइनलमा पुग्न चाहन्छ ।
यता, लिजेन्ड्स ६ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । राउण्ड रोबिन लिग अन्तर्गतको लिगको पहिलो भेटमा लिजेन्ड्सले लिओपार्डसलाई २५ रनले हराएको थियो ।
