काठमाडौं । युएईमा जारी अफगानिस्तान प्रिमियर लिग (एपीएल) क्रिकेटमा सन्दीप लामिछाने रहेको नगरहर लिओपार्डसले आज (बुधबार) बल्ख लिजेन्ड्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप रहेको टिम लिओपार्डसले समूह चरणको अन्तिम खेलमा लिजेन्ड्सविरुद्ध खेल्न लागेको हो । युएईको शारजाहमा हुने लिओपार्डस र लिजेन्ड्सबीचको खेल नेपाली समय अनुसार बेलुका ५:४५ मा सुरु हुनेछ ।
मलेसियामा सम्पन्न आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह 'बी' खेलेर सन्दीप युएई गएका हुन् । आज मैदान उत्रन पाए सन्दीपले एपीएलको दोस्रो खेल खेल्ने छन् ।
डेब्यु खेलको प्रदर्शन हेर्दा सन्दीप टिममा पर्ने देखिएको छ । सन्दीपले लिजेन्ड्सविरुद्ध पनि उच्च प्रदर्शन गर्ने आशा गरिएको छ ।
यसअघि आइतबार सन्दीपले पक्टिया प्यान्थर्सविरुद्धको खेलमा मैदान उत्रदै एपीएलमा डेब्यु गरेका थिए । सन्दीपले डेब्यु खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले डेब्यु खेलमा दुई विकेट लिएका थिए । तर, उक्त खेलमा सन्दीपको टिम ७ विकेटले पराजित भएको थियो ।
लिगमा सन्दीपको टिम चौथो स्थानमा छ । लिओपार्डस ७ खेलबाट ४ अंक जोडेको छ । र, लिओपार्डस आज लिजेन्ड्सलाई हराएर सेमिफाइनलमा पुग्न चाहन्छ ।
यता, लिजेन्ड्स ६ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । राउण्ड रोबिन लिग अन्तर्गतको लिगको पहिलो भेटमा लिजेन्ड्सले लिओपार्डसलाई २५ रनले हराएको थियो ।