एजेन्सी । अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा पाकिस्तानले मध्यम प्रदर्शन गरेको छ । युएईमा मंगलबार सुरु टेष्टको पहिलो इनिङसमा पाकिस्तानले अलआउट हुँदै २८२ रन बनाएको छ ।
आबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ८१ ओभरमा अलआउट हुँदै २८२ रनको सम्मान जनक योगफल तयार गरेको हो । पाकिस्तानलाई डेब्यु खेलाडी फखर जमान र कप्तान सर्फ्राज अहमेदले उकासेका थिए । दुबैले समान ९४/९४ रनको अर्धशतकीय इनिङस खेले ।
त्यस्तै यासिर साहले २८ रन जोडे । पाकिस्तानका अन्य ब्याट्सम्यान चल्न सकेनन् । अष्ट्रेलियाका नाथन लियोनले ४ विकेट लिए ।
पाकिस्तानलाई मध्यम स्कोरमा समेटेर पहिलो इनिङस थालेको अष्ट्रेलियाले भने खराब सुरुवात गरेको छ । अष्ट्रेलियाले ७ ओभरमा मात्र २० रन जोडेर महत्वपूर्ण २ विकेट गुमाईसकेको छ ।
अष्ट्रेलियाका आरोन फिन्च १३ रनमा अविजित छन् । पाकिस्तानका मोहमद अब्बासले २ विकेट लिए ।
दुई टोलीबीचको २ खेलको सिरिज बराबरीको अवस्थामा रहेको छ । यसअघि पहिलो टेष्ट बराबरी भएको थियो ।