बराबरीपछि के भन्छन् च्यासल र एनआरटीका प्रशिक्षक ?

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा शनिबार च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा च्यासल र एनआरटीले १-१ गोलको बराबरी खेल्दै अंक बाडेको हो ।
च्यासलका लागि रुमेश बर्तौलाले सुरुआती गोल गरेका थिए । तर, एनआरटीका दिपेश घलेले बराबरी गोल फर्काएका थिए ।
सुरुआती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएपनि च्यासलका मुख्य प्रशिक्षक बाल गोपाल शाहुखल सन्तुष्ट देखिए ।
'हामीले अघिल्लो खेल जस्तो खेल्न सकेनौं । एनआरटीले राम्रो खेल्यो । हाम्रो योजना अनुसार भएन । तर, म खुसी छु,' उनले पोस्ट म्याचमा भने ।
यस्तै प्रशिक्षक शाहुखलले रेफ्रीको निर्णयमा असन्तुष्ट व्यक्त गरे ।
'आज रेफ्रीको निर्णय भएन । मैदानमा जस्तो दृश्य देखे त्यो आफ्नो नियन्त्रणमा लिनु पर्ने थियो । जुन रेफ्रीले सकेन । यस्तो हुनु भनेको नेपाली फुटबलका लागि राम्रो संकेत हैन,' उनले थपे ।
एनआरटीका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले तीन अंक लिने योजना भएपनि एक अंकमा सिमित भएको बताए ।
'आज राम्रो खेलेका थियौं । तीन अंक लिने प्रयास थियो तर एक अंकमा सिमित भयौं । आजको खेलमा विदेशी खेलाडी भन्दा नेपाली खेलाडीले राम्रो खेले,' शाक्यले थपे, 'विदेशी खेलाडीले एनएसएलमा राम्रो खेलेका थिए । तर लिगमा राम्रो खेल्न सकिरहेका छैनन् ।'
प्रशिक्षक शाक्यले टिममा तालमेल अझै नमिलेको बताए ।
'पास राम्रो हुन सकेको पनि छैन । टिम कम्बिनेसन नै नमिलेको जस्तो देखिएको छ । तर, आजको जस्तै खेल्यौ भने तालिकमा राम्रै स्थानमा हुन्छौ जस्तो लाग्छ,' शाक्यले थपे ।