काठमाडौं । भारतले फोर नेसन्स कप फुटबलका लागि नेपालको राष्ट्रिय महिला फुटबल टिमलाई प्रस्ताव गरेको छ ।
एसिया कपको तयारीमा रहेको भारतले घरेलु मैदानमा 'फोर नेसन्स कप'को आयोजना गर्दैछ ।
भारतले डिसेम्बर ९ देखि २१ गतेसम्म प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
त्यसैलको तयारी स्वरुप दक्षिण एसिया बाहेकका देशलाई समेत बोलाएर भारतले प्रतियोगिता गर्ने तयारी गरेको हो ।
एन्फा महासचिव इन्द्रमान तुलाधरले फोर नेसन्स कपका लागि भारतले नेपाललाई प्रस्ताव गरेको खेलपाटीलाई बताए ।
'भारतले प्रतियोगिताका लागि प्रस्ताव पठाएको छ । हामीले समेत इच्छुक छौं भनेर जवाफ पठाएका छौं । केही दिनमै यसको विषय पक्का हुनेछ ।' उनले भने ।
भारतले साउथ एसियाबाट मात्र नभएर बाहिरका थाइल्याण्ड लगायतका देशलाई समेत प्रतियोगिताका लागि प्रस्ताव गरेको छ ।
'भारतले नेपाल सहित साउथ एसिया बाहिरका देशलाई समेत प्रस्ताव गरेको छ । यदी नेपाल सहभागी हुने पक्का भएको खण्डमा दक्षिण एसिया भन्दा बाहिरका टिम खेल्न पाईन्छ भन्ने लागेको छ।' तुलाधरले भने ।
एसिया कपको छनोट खेलर आएपछि नेपालको महिला फुटबल टिम निष्कृय बसेको छ । एन्फाले समेत महिला फुटबलको तुलनामा पुरुष फुटबललाई प्राथमिकतामा राख्दै आएको छ ।
अन्तराष्ट्र्रिय प्रतियोगिता नभएका कारण समेत महिला फुटबलले अपेक्षित गति लिन सकेको छैन ।