पैसा छैन्, तर बार्सिलोना चाहन्छ तीन खेलाडी

काठमाडौं । सबैलाई थाहा छ, बार्सिलोनाको आर्थिक स्थिति नाजुक छ ।
बोलीचालीको भाषामा भन्दा बार्सिलोनासँग पैसा छैन ।
तर पैसा छैन भन्दैमा हार मान्नु त भएन् । त्यसैले त बार्सिलोना ढिलो चाँडो कम्तीमा तीन राम्रा खेलाडी किन्न चाहन्छ ।
आखिरमा बार्सिलोना जत्तिको क्लबले कुनै पनि प्रतियोगितामा बलियो चुनौती त पेस गर्नु नै पर्छ ।
क्लबका अध्यक्ष जोन लापोर्टाले भनिसकेका पनि छन्, हामी तीन खेलाडी भित्र्याउने कसरतमा छौं ।
बार्सिलोनाले भर्खरै डानी एल्भेसलाई अनुबन्ध गरेको छ । तर उनी जनवरीसम्म आराम मै रहने छन्, किनभने त्यस अगाडि बार्सिलोनाले यी ब्राजिली खेलाडीको नाम लिगमा दर्ता गराउन पाउने छैन ।
त्यसैले बार्सिलोनाको सीईओ माटेयु आलेमेनीले भनेका छन्, ‘सबैभन्दा पहिले जनवरीसम्म कुरौं, त्यसपछि के हुन्छ हेरौं ।’
एक प्रकारले भन्दा बार्सिलोना व्यवस्थापन दबाबमा छ ।
व्यवस्थापनले प्रशिक्षकका रूपमा जाभी हर्नान्डेजलाई ल्याएर मात्र त भएन, खेल्ने खेलाडी पनि त चाहियो । नत्र अहिलेकै टिमले राम्रो नतिजा आउने छाँट छैन ।
जनवरीको ट्रान्सफरमा भित्रिन सक्ने खेलाडी को को हुन सक्छ त ? यसबारे अनुमान मात्र गर्न सकिन्छ । तर ठ्याक्कै अनुमान के गर्न सकिन्छ भने यसका लागि अहिले भएका केही खेलाडीलाई भने पक्कै बेच्नु पर्नेछ ।
–मार्काको सहयोगमा ।