काठमाडौं । एम्नेस्टी इन्टरनेशनलले इंग्ल्यान्डका खेलाडी, पदाधिकारी तथा समर्थकहरुले कतारमा २०२२ को विश्वकपको तयारीको क्रममा भइरहेको मानव अधिकार उल्लंघटनका घटनालाई उजागर गर्न आफ्नो स्थानको प्रयोग गर्नुपर्ने जनाएको छ ।
ग्यारेथ साउथगेटको टिमले गत सोमबार सान मारिनोलाई १०–० ले पराजित गर्दै विश्वकपका लागि छनोट भएको थियो ।
तर विश्वकप आयोजनामा एक वर्ष बाँकी रहदा एम्नेस्टीले ४८ पृष्ठको प्रतिवेदन सार्वजनिक गर्दै आप्रवासी कामदारहरुको शोषण भइरहेको दावी गरेको छ ।
प्रतियोगिताका लागि मैदान र पूर्वाधार निर्माणमा आप्रवासी कामदारहरुले काम गरिरहेका छन् ।
एम्नेस्टीका अनुसार २०१७ पछि श्रममा कैयौ सुधार गरिएपनि कामदारहरुले ज्यालाको चोरी, असुरक्षित कामको अवस्था तथा जागिर परिवर्तनका लागि कैयौ अवरोधको सामना गर्नुपर्ने अवस्था रहेको छ ।
तर कतार सरकारले भने एम्नेस्टीको दावीलाई अस्वीकार गरेको छ ।
कतारले जनाए अनुसार प्रत्येक वर्ष कानून उल्लंघन गरेका कैयौ कम्पनीहरु जवाफदेही हुन्छन् ।
‘प्रणालीगत सुधार एक दीर्घकालिन प्रक्रिया हो र प्रत्येक कम्पनीको आचरण परिवर्तन गर्न समय लाग्छ । आफ्ना कार्यहरुमार्फत सरकारले कम्पनीहरुलाई कडा सन्देश दिइरहेको छ कि कानूनको उल्लंघन सहनिय हुनेछैन,’ कतार सरकारले जवाफमा भनेको छ ।
गत महिना नै २०२२ विश्वकपको एम्बेस्डर तथा इंग्ल्यान्डको पूर्व कप्तान डेभिड बेखमलाई आफ्नो स्थानको प्रयोग गरि विश्वको ध्यान मानव अधिकारको मुद्दामा केन्द्रित गर्न आग्रह गरेको थियो ।