काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले फराकिलो जित निकालेको छ ।
शनिबार भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ७-० गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीको फराकिलो जितमा मासन माउन्टले ह्याट्रिक पूरा गरे ।
यस्तै कलुम हुड्सन, रिस जेम्स र बेन चिलवेलले एक एक गोल गरे ।
नर्विचका म्याक्स आरोन्सले एक आत्मघाती गोल गरे ।

एकतर्फी खेलमा चेल्सीले आठौं मिनेटमा माउन्टको गोलबाट अग्रता बनाएको थियो ।
खेलको १८ औं मिनेटमा कलुमले गोल गर्दा चेल्सीको अग्रता २-० को बन्यो ।
४२ औं मिनेटमा जेम्सले गोल गर्दै चेल्सीको अग्रता तेब्बर बनाए ।
खेलको ५७ औं मिनेटमा चिलवेलले गोल गर्दा चेल्सीको अग्रता ४-० को बन्यो ।

खेलको ६२ औं मिनेटमा म्याक्सले आत्मघाती गोल गर्दा चेल्सीले ५-० को अग्रता बनायो ।
६५ औं मिनेटमा बेन गिब्सनले रातो कार्ड पाएपछि नर्विच १० खेलाडीमा समेटियो ।
खेलको ८५ औं मिनेटमा माउन्टले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ६-० को बनाए ।
त्यसपछि खेलको इन्जुरी समयमा माउन्टले ह्याट्रिक पूरा गर्दै चेल्सीलाई ७-० को जित दिलाए ।
जितसँगै चेल्सीले ९ खेलमा २२ अंक जोडेको छ ।
चेल्सी शीर्ष स्थानमा रहेको छ ।
नर्विच २ अंक जोडेर पुछारमा रहेको छ ।
