काठमाडौं । ललितपुर महानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार कागेश्वारी नगरपालिकालाई १०-० गोल अन्तरले पराजित गर्दै ललितपुरले सुखद सुरुआत गरेको हो ।
ललितपुरको जितमा निर्मला बिकले चार गोल गरिन् ।
सम्झना लावतीले ह्याट्रिक पूरा गर्दा मनिषा राउतले दुई गोल गरिन् ।
कागेश्वारीकी सजिना मुक्तानले एक आत्मघाती गोल गरिन् ।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०/२० हजार पाउने छन् ।