काठमाडौं । ‘डर्बी अफ इटाली’ अर्थात त्यो खेल जसमा युभेन्ट्सले इन्टर मिलानको सामना गर्नेछ । इटालीको सिरी ए मा आइतबार यिनै दुई क्लब भिड्दै छन् र सबैको नजर त्यसै हुनेछ ।
नहोस पनि किन र ? यी दुई क्लब हुन्, इटालीको फुटबलका सबैभन्दा ठूला, अनि उत्तिकै सफल क्लब । इन्टर रह्यो, यसपल्टको डिफेन्डिङ च्याम्पियन ।
यो यही क्लब हो, जसले पोहोर सिजन युभेन्टसको लगातार उपाधि जितको यात्रामा बाधा पुर्याएको थियो । तर यसपल्ट युभेन्ट्स फेरि लयमा देखिएको छ । तर खेल हुनेछ, सानसिरोमा ।
त्यसो भनेको, इन्टरको घरमा । त्यसैले युभेन्ट्सका लागि सजिलो पनि हुने छैन् । तर यसमा जित निकाल्न सक्यो भने लिग उपाधिको होडमा उसलाई धेरै आराम हुनेछ ।
पोहोर सिजनको असफलतकै कारण युभेन्ट्सले क्लबमा फेरि पुरानै प्रशिक्षक ल्याएको छ, मासिमिलिनो एलेग्रीका रूपमा । सिजनको सुरुआत युभेन्ट्सका लागि मैदान बाहिरको समाचार राम्रो रहेन, किनभने उसले क्रिस्टियानो रोनाल्डोलाई गुमाएको थियो । तर यिनै रोनाल्डो विना युभेन्ट्सले राम्रो खेल्न सिकेको छ ।
युभेन्ट्सका लागि च्याम्पियन्स लिगको अन्तिम १६ को चरण पनि पकडमा पुगिसकेको छ । त्यसैले उसले आफ्नो पूरा ध्यान अब घरेलु लिगमा केन्द्रित गर्न सक्नेछ ।
आइतबार नै त्यस्तो एक अर्को खेल पनि रहेको छ, जसले सबैको ध्यान खिच्ने छ र यो हुनेछ, रोमाविरुद्ध नेपोली । जोसे मोउरिन्होको टिमलाई यस खेलमा जित नै चाहिन्छ, अन्यथा सबै दबाबमा हुनेछन् ।
–एएफपीको सहयोगमा ।