काठमाडौं । इंग्लिस क्लब लेस्टर सिटीले युरोपा लिग फुटबलमा रोमान्चक जित निकालेको छ ।
समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा लेस्टरले स्पार्टक मस्कोलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।
मस्कोको मैदानमा दुई गोलको अग्रता उल्टाएर लेस्टरले जित निकालेको हो ।
लेस्टरको जितमा पाट्सन डाकाले ह्याट्रिकसहित ४ गोल गरे ।

खेलको ११ औं मिनेटमा एलेक्सजेण्डर सोबोलेभले गोल गर्दै मस्कोलाई सुरुआती अग्रता दिलाएका थिए ।
४४ औं मिनेटमा जोर्डन लार्सनले गोल गर्दै मस्कोको अग्रता २-० को बनाए ।
त्यसपछि लेस्टरका पाट्सन चम्किए ।
४५ औं मिनेटमा पाट्सनले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।
खेलको ४८ औं मिनेटमा पाट्सनले व्यक्तिगत दोस्रो गोल गर्दै लेस्टरलाई २-२ गोलको बराबरीमा फर्काए ।
५४ औं मिनेटमा पाट्सनले ह्याट्रिक पूरा गरेपछि लेस्टर ३-२ ले अघि रह्यो ।

खेलको ७८ औं मिनेटमा पाट्सनले व्यक्तिगत चौंथो गोल गर्दै लेस्टरलाई ४-२ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८६ औं मिनेटमा मस्कोका सोबोलेभले व्यक्तिगत दोस्रो गोल गरेपनि लेस्टरले ४-३ को जित निकाल्यो ।
जितसँगै समूह सी को लेस्टरले ३ खेलमा ४ अंक जोडेको छ ।
लेस्टर समूहको दोस्रो स्थानमा रहेको छ ।
मस्को ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।